मनहरी- साउन ८ गते । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाको पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ बुधबार मात्रै ग्रहण गर्ने हुनु भएको हो ।
नवनियुक्त मुख्यमन्त्री लामालाई साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि मंगलबार बेलुकी ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा पर्नुभएको शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश प्रमुख समक्ष पदबाट राजिनामा दिएका थियो ।
सोमबार नै मुख्यमन्त्रीमा दावी पेश गर्ने कार्य तालिका रहे पनि मंगलबार मात्र नव नियुक्त मुख्यमन्त्री लामाले दावी पेश गर्नु भएको हो ।
अव बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकार रहने छ । मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०÷२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो । बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नुभएको छ ।