Wednesday, December 11, 2024

राक्सिराङको कालिका मावि कोमामै छः शिक्षा विकास प्रमुख गौतम

ताजा / भरखरै प्राप्त

मनहरी–साउन ६ गते । राक्सिराङ गाउँपालिका ४ स्थित कालिका माध्यमिक विद्यालयको शैक्षिक अबस्था नाजुक भएकोप्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गर्दै सुधारको आह्वान गरेका छन् ।

गुरु पूर्णिमाका दिन सो विद्यालयमा अध्ययन गरेर विभिन्न स्थानमा पुगेका भूतपूर्व विद्यार्थीहरुले मनहरीमा आयोजना गरेको सेवा निबृत्त शिक्षक सम्मान कार्यक्रममा यस्तो चिन्ता ब्यक्त गरिएको हो ।

‘म दुईपटक कालिका मावि आफै पुगेँ’, प्रमुख अतिथिको रुपमा आमन्त्रित शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतमले भन्नुभयो–‘साँच्चै भन्ने हो भने अहिले कालिका मावि कोमामा छ, यसलाई कोमाबाट निकालेर सही बाटोमा ल्याउनु आजको आवश्यकता हो ।’

उहाँले कालिका माविको यस बर्षको एसइइ परिक्षाको नतिजा पनि शून्य रहेको भन्दै कालिका माविजस्तै जिल्लाका अन्य विद्यालयहरु पनि निल भएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

विद्यालय सुधारका लागि स्थानीय तहले पनि अलि बढी ध्यान दिनुपर्ने भन्दै संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा आफूहरुको ध्यान रहने उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर विद्यालय सुधारका लागि ध्यान दिनुपर्ने बागमती प्रदेशका निवर्तमान सांसद एबम् माओवादी केन्द्रका नेता ओमबहादुर ग्लानको भनाइ थियो ।

आफूले कालिका माविमा नपढेपनि आफ्नै वडाको विद्यालय भएका नाताले विद्यालयप्रति गर्नुपर्ने सहयोग र समन्वयमा कमी भएकोमा आफैलाई आत्मग्लानी भइरहेको उहाँको भनाई थियो ।

राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले उपाध्यक्षकै घर अगाडिको विद्यालय बर्बाद भयो भनेर दुनियाँले भनिरहँदा आफूलाई असजिलो भएको बताउनुभयो ।

तर, आफू फरक विचार बोकेको र बिद्रोही धारको राजनीतिमा लागेकै कारण विद्यालयले सरकारी लगानी प्राप्त गर्न नसकेको उहाँको आरोप थियो ।

४ नं वडाध्यक्ष सन्जय कोइरालाले विद्यालयको अबस्था नाजुक भइरहेकाले आफै व्यवस्थापन समितिको अध्यक्ष बसी केही न केही भरथेग गरिसकेर जिम्मेवारी हस्तान्तरण गरिएको बताउँदै आगामी दिनमा भूतपूर्व विद्यार्थीको समेत सल्लाह र सुझावमा विद्यालय सुधार गरिने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरुसहित राक्सिराङ गाउँपालिका शिक्षा शाखा प्रमुख पंकस थारु, कालिका माविका प्रधानाध्यापक सुजन मुक्तान र राक्सिराङ गाउँपालिका शिक्षा शाखाका पासाङ तामाङ लगायतले पनि मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

भूतपूर्व विद्यार्थी मनोज मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन सुलभ तामाङले गर्नु भएको थियो । सो कार्यक्रममा कालिका माविका संस्थापक प्रधानाध्यापक प्रेमबहादुर मुक्तान र अर्का शिक्षक धनबहादुर स्याङ्तानलाई नगद रकमसहित सम्मान गरिएको थियो ।

लोकप्रिय

Related Articles