मनहरी- साउन ५ गते । मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न नेपालकै सबैभन्दा अग्लो (६५ फिटको) बुद्धको मुर्ति निर्माण कार्यले तिव्रता पाएको छ ।
सामुदायिक वनको चिहानडाँडा क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ बुद्धको मुर्ति बनाइरहेको हो ।
टासी फुन्छोक छ्योलिङ गुम्बाको अग्रसरतामा मनहरी ८ सिमपानी देवकोट सामुदायिक वनको जग्गामा बुद्धको मुर्ति निर्माण भैरहेको ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेतीले बताउनुभयो । मुर्तिसँगै अष्टमांगल र ध्यान केन्द्र समेत निर्माण हुने बताइएको छ ।
सबै संरचना निर्माणका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपालमा कोभिडको संक्रमण सुरु हुनुअघि बुद्ध मुर्तिको शिलान्यास गरी निर्माण कार्य थालनी गरिएको गुम्बाका गुरु सुल्ठिम लामा थोकरले जानकारी दिनुभयो ।
१० वर्षभित्र मुर्तिदेखि सबै संरचना निर्माण गरी सम्पन्न गर्ने योजना सहित वडा कार्यालय, मनहरी गाउँपालिका र प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले बजेटको व्यवस्था गर्नुभए बमोजिम कार्य अघि बढिरहेको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा तामाङ जातिको बाहुल्यता रहेको बताउनुहुँदै ८ नम्बर वडा अध्यक्ष नारयाण उप्रेतीले वन समितिको अध्यक्ष हुँदा यस क्षेत्रमा बुद्धको मुर्ति निर्माण गर्ने निर्णय गरेको बताउनुभयो ।
चिहानडाँडालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्य अनुसार एकीकृत शवदाह स्थल बनाएर चिहानडाँडालाई पार्कसहितको धार्मिक संरचना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।