मनहरी–असार २१ गते । मनहरी गाउँपालिका ८ बेलुवास्थित खेलमैदानमा भएको प्रथम मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमै आयोजकको तर्फबाट गोलको बर्षा गरिएको छ ।
चितवनको नमूना युवा क्लवलाई आयोजक टिम सिमपानी युथ क्लवले नमूनालाई १२ गोल हानेको हो । आयोजक टिमका राज भुषालले दोहोरो ह्याट्रिक, राहुल थापा मगरले ह्याट्रिक, सुमन भोलनले २ र देवा गुरुङले एक गोल गरेर शानदार जीत हासिल भएको हो ।
सिमपानी युथ क्लवले पहिलो हाफमा ५ र दोस्रो हाफमा ७ गोल गरेको थियो । शुक्रबार दिउँसाको खेल इन्द्रकमल युवा क्लव चितवन खैरहनी र मवादेवी युवा क्लव बाराबीच हुनेछ ।
असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता संयोजक प्रकाश लामाले बताउनुभयो ।
गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिमपानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताका उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आफ्ना दिवंगत खेलाडीको सम्झनामा सिमपानी युथ क्लवले प्रतियोगिता आयोजना गरी सहकर्मीलाई सम्झिएर राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ८ नं वडाध्यक्ष नारायण उप्रेती लगायतले प्रतियोगिताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम क्लवका अध्यक्ष किरण सुवेदीको सभाध्यक्षतामा भएको हो ।