Monday, July 15, 2024

मनहरीका दूध किसानलाई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था गर्दैछौँः अध्यक्ष कालाखेती

ताजा / भरखरै प्राप्त

मनहरी–असार २१ गते । मनहरीका दूग्ध उत्पादक किसानलाई १५ दिनमै भुक्तानी दिनेगरी व्यवस्था मिलाउने गरी काम अघि बढेको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनु भएको छ ।

मनहरी गाउँपालिका १ नं वडामा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रममा उहाँले किसानको हितमा हुने गरी गाउँपालिकाले यस्तो कार्यलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

अहिले व्यक्तिगत रुपमा र सहकारीको व्यवस्थापनमा चलिरहेका दूध डेरीहरुले महिनौँसम्म दूधको भुक्तानी दिन नसक्नाले किसानहरु आजित भइरहेको खबर आइरहेको सन्दर्भमा गाउँपालिकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिएर १५ दिनमै भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन आफू प्रयासरत रहेको अध्यक्षको भनाई थियो ।

‘हामीले हेटौँडा डेरी उद्योग नेवारपानीसँग साझेदारीका लागि कदम चालेका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘मनहरी गाउँपालिकामा उत्पादित सबै दूध हेटौँडा डेरीलाई दिने र त्यसको भुक्तानी प्रक्रिया गाउँपालिकाबाट सहकारीहरुलाई गराइदिने गरी व्यवस्था मिलाउने तयारी भएको छ ।’

हेटौँडा डेरीसँग त्यसरी सहकार्य गर्दा आउनुपर्ने किसानको रकम समयमै नआएपनि गाउँपालिकाको आन्तरिक कोषबाट भुक्तानी दिइने र हेटौँडा डेरीबाट त्यसको सोधभर्ना गर्नेगरी व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । ‘यसो गर्दा किसानहरुले समयमै रकम पाउनेछन्, गाउँपालिकाले मध्यस्थता मात्रै गरिदिए पुग्ने अबस्था छ ।’

एक अर्काे प्रसंगमा अध्यक्ष कालाखेतीले आगामी आर्थिक बर्षका मनहरी गाउँपालिकाले लामिटार चकरी सडकका लागि समपूरक बजेट १ करोड राखेकामा संघीय सरकारले १ करोड थपेको र अर्काे ५० लाख रुपियाँ पनि यही बाटोका लागि बिनियोजन भएकाले २ करोड ५० लाख लगानी हुने बताउनुभयो ।

ठेक्का प्रक्रियाबाट घटीघटाउमा आएका बजेट पनि यही सडकमा उपभोक्ता समितिमार्फत काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

त्यसैगरी गाउँपालिकाले ५ वटा पक्की पुलमध्ये ३ वटा सम्पन्न गरी उद्घाटन गरेको र अर्काे २ वटा अब छिट्टै सम्पन्न हुन गइरहेको बताउँदै उहाँले चकरीमा पक्की पुलका लागि संघ र प्रदेश सरकारका लागि अनुरोध गर्ने बताउनुभयो ।

संघ र प्रदेशले वास्ता नगरे गाउँपालिका आफैले चकरीमा पुल बनाउनेगरी बहुबर्षीय ठेक्का लगाउने गरी व्यवस्था मिलाउने उहाँको भनाइ छ । ‘पाँच पाँच वटा पुल त बनाइयो भने एउटा अर्काे थप्न हामीलाई समस्या छैन’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘हामी यो गरेरै छाड्छौँ, सकेसम्म लामिटार चकरी सडक मेरै कार्यकालमा सम्पन्न हुनेगरी काम गर्नेछु ।’

सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगरले जनताको भावना बुझेर गुनासाहरु सुन्नका लागि स्थानीय सरकार १ नं वडामै हाजिर भएको बताउनुभयो ।

उठेका विविध बिषयहरुमा कार्यालयका बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, स्वास्थ्य प्रमुख रामचन्द्र दाहाल, कृषि प्रमुख शर्मिला सुवेदी, प्राविधिक उत्तम उप्रेती, कार्यपालिका सदस्य सेतीमाया तामाङ लगायतले सम्बोधन गर्नु भएको थियो ।

१ नं वडाध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गाउँबेसी क्रिएसन प्रा.लिका तर्फबाट शिवकुमार काशीले गर्नु भएको थियो भने नागरिक प्रतिवेदन र बहिर्गमित प्रतिवेदन सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले प्रस्तुत गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles