Monday, July 15, 2024

मनहरीका तीनवटा विद्यालयको एसइइ नतिजा नील

ताजा / भरखरै प्राप्त

मनहरी–असार १३ गते । एसइइ परिक्षा २०८० को नतिजा प्रकाशन भएको छ । जस अनुसार मनहरी गाउँपालिकाभित्र रहेका तीनवटा सामुदायिक विद्यालयका एकजना विद्यार्थीले पनि एसइइ परिक्षा उत्तीर्ण गराउन सफल भएनन् ।

ती विद्यालयहरुमा मनहरी गाउँपालिका वडा नं २ को सीता माध्यमिक विद्यालय, वडा नं ३ को महेन्द्रज्योति माध्यमिक विद्यालय र वडा नं ४ को पशुपतिनाथ माध्यमिक विद्यालय रहेका छन् ।

कूल ८ वटा सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

राष्ट्रिय रोटरीबाट १०२ जना परिक्षार्थीले परिक्षा दिएकामा २९ जना परिक्षार्थीले एसइइ पास गरेका हुन् । यो संख्यालाई प्रतिशतमा लैजाँदा २८ दशमलब ४२ हुन आउँछ ।

त्यसैगरी मनहरी ८ को महेन्द्रकिरण माविबाट परिक्षा दिएका ७९ जनामध्ये २१ दशमलब ३५ प्रतिशत अर्थात कूल १९ जना पास भएको छन् । बालजीवन ज्योति मावि मकरीबाट ४६ जनाले परिक्षा दिएकामा ७ जना पास भएका छन् । प्रतिशतमा लैजाँदा यो अंक १५ दशमलब २२ हुन आउँछ ।

सामुदायिक विद्यालय तर्फ सबैभन्दा कम विद्यार्थी उत्तीर्ण गराउने विद्यालय मनहरी ५ को भोजसिद्ध मावि रहेको छ । २९ जनाले परिक्षा दिएकामा १ जनामात्र उत्तीर्ण भई ३ दशमलब ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्याङ्का सार्बजनिक भएको छ ।

मनहरीमा रहेका तीनवटा संस्थागत विद्यालमध्ये मनहरी ८ स्थित युनाइटेड इंग्लिस बोर्डिङ स्कूले सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण सफल भएको छ ।

कूल ४९ जनाले परिक्षा दिएकामा ३७ जनाले एसइइ उत्तीर्ण गरी ७५ दशमलब ५१ प्रतिशत विद्यार्थीलाई पास गराउन युनाइटेट सफल भएको छ ।

त्यसैगरी मनहरी ७ स्थित मेरीगोल्ड टाइनिटस इंग्लिस बोर्डिङ स्कूलबाट १३ जनाले परिक्षा दिएकामा ७ जना परिक्षार्थी उत्तीर्ण भई ५३ दशमलब ८५ प्रतिशत सफलता हासिल भएको छ ।

सोही वडाको युनिभर्सल लर्निङ लर्निङ एकेडेमीबाट परिक्षामा सहभागी भएका १६ जनामध्ये ८ जना एसइइ परिक्षामा सफल भई ५० प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ ।

पालिकाभरबाट कूल ४७३ जना परिक्षार्थीले परिक्षा दिएकामा ११३ जना मात्रै उत्तीर्ण भएका हुन् । ३६० जना परिक्षार्थी एसइइमा असफल भइरहँदा पालिकाभर एसइइ परिक्षा पास हुने प्रतिशत २४ मात्रै रहेको छ ।

राष्ट्रिय रुपमा ४७ प्रतिशत परिक्षार्थीले सफलता पाइरहँदा मनहरीमा भने त्यसको आधा प्रतिशत मात्रै सफल भएका हुन् । यो नतिजाले मनहरी गाउँपालिकाको शैक्षिक अबस्थालाई निकै चुनौति दिएको शैक्षिक विश्लेषकहरु बताउँछन् ।

लोकप्रिय

Related Articles