मनहरी–असार १५ गते । राष्ट्रिय धान दिवसकै अबसर पारेर मनहरी गाउँपालिका वडा नं ७ स्थित ऐतिहाँसिक मनकामना मन्दिर परिसरमा दही चिउरा खाने कार्यक्रम भएको छ ।
परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै दही चिउरा खुवाउने कार्यक्रम आयोजना गरिएको हो । मनकामना सनातन धर्म संरक्षण संस्थाले आयोजना गरेको दही चिउरा खाने कार्यक्रमसँगै मन्दिर परिसरको पूर्ण सरसफाई गरिएको छ । दही चिउरा खाने कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले ऐतिहासिक रुपमा रहेको मनकामना मन्दिरको विकास र संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिने बताउनु भयो ।
उहाँले दही चिउरा खाने संस्कृति र परम्परालाई जीवित राख्नका लागि मनकामना मन्दिर परिवारले गरेको प्रयास प्रशंनीय समेत रहेको बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले मन्दिरको विकास र संरक्षण संबद्र्धनमा स्थानीय सरकारले ध्यान दिने बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ७ नं वडाका अध्यक्ष ठाकुरराम तितुङ, वडा सदस्यहरु नवराज सुवेदी, बिमला सुनार, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख दीपक थापा, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामा, मनहरी क्योकुसिन कराँते डोजोका प्रशिक्षक लवाङ दोर्जे लामा लगायत विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने अतिथिहरु सहभागी हुनुहुन्थ्यो ।







