Sunday, February 9, 2025

ऋणमा डुबेको सामुदायिक वनको अध्यक्षमा निवर्तमान वडाध्यक्षदेखि पूर्वअध्यक्षसम्मको दाबी

ताजा / भरखरै प्राप्त

नहरी–असार११ गते । एक करोड बढी ऋणमा चुर्लुम्म डुबेको मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समिति छान्नका लागि असार १५ गते निर्वाचन हुँदैछ ।

निर्वाचन समितिले निर्वाचन सम्बन्धी सबै प्रक्रियाहरु पूरा गरिसकेको जनाएको छ । असार १५ गते मतदान गर्ने र त्यसपछि मतगणना गर्नेसम्मका सबै तयारी सकिएको निर्वाचन समितिका सदस्य मिलन अर्यालले बताउनुभयो ।
वन समूहको निर्वाचनमा दुईवटा प्यानल तय भएका छन् भने तीन जना उम्मेदवार चाहिँ प्यानलभित्र छैनन् ।

कूल १६ वटा पदमा हुने निर्वाचनका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएको अर्यालले बताउनुभयो । यसअघि नै मनोनयन दर्ताका क्रममा लेखा सुपरिबेक्षण समितिमा गोपाल ढकाल र दलिता महिला सदस्यमा भने तेजकुमारी सुनार निर्विरोध भइसक्नु भएको निर्वाचन समितिका सदस्य दीप बिँडारीले बताउनुभयो ।

कूल एक हजार ५ सय ८३ जना मतदाता रहेको वन समूहमा प्रतिघर २ मतको अधिकार दिइएको छ । महिला र पुरुष दुबैको समान अधिकार देखाउनका लागि प्रतिघर २ मतको व्यवस्था गरिएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्ष र सचिव र लेखा सुपरिबेक्षण समितिमा ३/३ जना उम्मेदवार छन् । अध्यक्षमा मनहरी गाउँपालिका ९ नं वडाका निवर्तमान वडाध्यक्ष समेत रहेका साधुराम अधिकारी, वन समूहकै पूर्व अध्यक्ष भई काम गरिसकेको लोकनाथ ढुंगाना र नयाँ फ्रेस उम्मेदवार धर्मबहादुर थापा (थापाकाजी) उभिएका छन् । यीमध्ये थापा कुनै पनि प्यानलमा छैनन्, स्वतन्त्र ढंगले अघि बढेका छन् ।

पूर्ववडाध्यक्ष साधुराम अधिकारीलाई यसपटक एमालेको तर्फबाट बनेको प्यानलको नेतृत्वकर्ता मानिएको छ । तत्कालीन २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट बिद्रोह गरी सोली चुनाव चिन्ह लिएर उहाँले वडाध्यक्षमा निर्वाचित भई एमालेका हेमलाल उप्रेतीलाई तेस्रो स्थानतिर पु¥याइदिनु भएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि उहाँ नेकपा एकीकृत समाजवादीतर्फ लागेर जिल्ला सदस्य हुनु भएका उहाँ केही महिनाअघि पुनः एमालेमै फर्केर अहिले वन समूहको चुनावमा एमालेको आधिकारिक उम्मेदवार बन्नु भएको हो ।

यता नेकपा एमालेकै पुराना नेता लोकनाथ ढुंगाना यसपटक एमालेकै उम्मेदवारको बिरोधमा बागी देखिनु भएको छ । नेपाली काँग्रेस, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका मान्छेहरुले यसअघि पनि अध्यक्ष भएर काम गरिसकेका ढुंगानालाई अध्यक्षमा एमालेका उम्मेदवारबिरुद्ध उठाएको बुझिएको छ । ढुंगानालाई एमालेजनकै कतिपयले अघोषित सहयोग गरेको समेत बजारमा हल्ला छ ।

यता नेकपा माओवादी केन्द्रको नेता एबम् वाइसीएल मनहरीका इन्चार्ज समेत रहनु भएका धर्मबहादुर थापा (थापाकाजी) भने एकल रुपमा चुनावमा होमिएका छन् । उहाँलाई अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको समर्थन नरहेको बुझिएको छ ।

तैपनि उहाँले आफूलाई परिक्षामा होमेको र एकल रुपमा चुनावी मैदानमा उत्रिएको बताउनु भएको छ । ‘म स्वतन्त्र ढंगले एक्लै अघि बढेको छु’, थापाले भन्नुभयो–‘हर्क साम्पाङ र बालेन्द्रहरु झैँ बिना हुलहुज्जत एक्लै उपभोक्ताहरुको घरदैलामो पुगिरहेको छु ।’

यसरी नेतृत्वमा त्रिपक्षीय भिडन्त ज्यामिरेमा हुँदैछ । पाँच दल एकातिर लाग्दा समेत एमालेले यसअघि २ पटक निर्वाचन जितेको यो समूहको असार १५ गतेको निर्वाचन यसै भन्न सकिँदैन । किनकी, जसलाई अध्यक्ष बनाएपनि जंगलको काठ बेच्ने र ऋण लगाएर बिदा हुने तरिकाबाट उपभोक्ताहरु आजित देखिन्छन् ।

वन समूहको नराम्रो बिगत
ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहको निवर्तमान अध्यक्ष दीपक पुलामी अघिल्लो कार्यकालमै निर्वाचित भएर नेतृत्वमा आउनु भएको हो ।

त्यसबेला नेपाल कम्युनिष्ट पार्टीको दबदबा थियो । सचिव अनु स्याङ्बोसहितको टिमले कोरोनाकाल र काठको चरम नाकाबन्दीको समस्या सामना गर्नुप¥यो ।

कार्यसमितिको समयावधि सकिएपछि पुनः निर्वाचनमा जाँदा बढी खर्च र झन्झट हुने भन्दै सर्बदलीय र सर्बपक्षीय सहमति जुटाएर पुनः पुलामीलाई नै अध्यक्षको जिम्मेवारी दिइयो । तर, वन समूहकै मिलेमतोमा अनुमति प्राप्त गरेकोभन्दा बढी रुखहरु काटेको आरोपमा अध्यक्षसहित ५ जनालाई सव डिभिजन वन कार्यालय मनहरीले वनमुद्धा लगाएपछि लामो समयसम्म हिरासतमा बस्नुप¥यो ।

अहिले पनि पदाधिकारीले वन मुद्दा नै खेपिरहेको बताइन्छ । यो अबधिमा वन समूहमा १ करोडभन्दा बढी ऋण लागेको छ । लेखाप्रतिवेदनमै १ करोडबढी ऋण देखाइएपछि यसबारे चियोचर्चा हुन थालेको छ ।

अझ चाखलाग्दो कुरा त के हो भन भर्खरै शान्तिप्रक्रिया अघि बढिरहँदा तत्कालीन अध्यक्ष प्रल्हाद लम्साल र अधिकारीबीच पनि अध्यक्षका लागि चुनाव भएको थियो । त्यतिबेलाको चुनावमा गोली पड्केको घटनाले देशभर चर्चा पाएको थियो । ९ नं वडामा सामाजिक संघसंस्थाहरुमा चरम राजनीतिक व्यवहार हुनेगरेको छ ।

यो वडा यस्तो वडा हो, जहाँ एउटा पनि माध्यमिक तह अध्ययन हुने विद्यालय छैन । उपभोक्ताले आगामी नेतृत्व कस्तो छान्ने भन्नेबारे यकीन निर्णय लिइसकेका छैनन्, तर ‘मान्छे चिन्नू, खसी किन्नू’ शु्त्रलाई यसपटक भरपूर उपभोग गर्ने कि भन्ने मनोविज्ञान उपभोक्ताहरुमा देखिएको छ ।

राजनीतिक लडाई र प्रतिष्ठाभन्दा पनि असल मान्छे छान्नेतिर उपभोक्ताको ध्यान गइरहेको बताइन्छ ।

लोकप्रिय

Related Articles