Sunday, February 9, 2025

मनहरीमा असार २० बाट मिलन धर्मराज स्मृति फुटवल, मनोजले दिने भए डेढ लाख

ताजा / भरखरै प्राप्त

मनहरी–असार ८ गते । मनहरी गाउँपालिका वडा नं ८ सिमपानीका फुटवल खेलाडीद्वय मिलन मुक्तान र धर्मराज मुक्तानको स्मृतिमा सिम्पानी युथ क्लवले खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लवले शनिबार बिहान रेडियो मनहरी एफएममा पत्रकार सम्मेलन गरी आगामी असार २० गतेबाट फुटबल प्रतियोगिताको तयारी भएसँगै शिल्ड प्रदर्शन गरेको हो ।

प्रतियोगिताको बिजेताले एकलाख रुपियाँ र उप बिजेताले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बिजेता र उप बिजेताले प्राप्त गर्ने पुरस्कार रकम भने दिवंगत खेलाडी मिलनका दाजु एबम् धर्मराजका भतिज मनोज मुक्तानले उपलब्ध गराउने बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुक्तानले आफ्ना भाई र काकाको स्मृतिमा सिम्पानी युथ क्लवले आयोजना गर्न लागेको प्रतियोगितामा पुरस्कार रकम उपलब्ध गराउने बताउनु भएको हो ।

‘क्लवका भाईहरुले आँट गरेर अघि बढेका रहेछन्’, मुक्तानले भने–‘यो निकै ठूलो कार्यक्रममा आर्थिक व्यवस्थापन चुनौतिपूर्ण भएकाले परिवारको तर्फबाट पुरस्कार रकम सहयोग गरिएको हो ।’

क्लवका अध्यक्ष किरण सुवेदीका अनुसार प्रतियोगितामा विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगद ५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिता मनहरी गाउँपालिका ८ बेलुवास्थित खेलमैदानमा सञ्चालन हुने र कम्तीमा १६ वटा टिमले सहभागिता जनाउने क्लवका खेलकुद संयोजक प्रकाश थिङले जानकारी दिनुभयो । कूल ७ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै मनहरी खेलकुद विकास समितिका अध्यक्ष बीरु लामाले यो प्रतियोगितालाई स्थानीय सरकारले अपनत्व ग्रहण गरी रनिङ शिल्डमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

फुटबल प्रतियोगिताका लागि मनहरी गाउँपालिकाले खेल सामग्री सहयोग गराउनेछ भने अन्य विभिन्न ब्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अनुरोध गरिएको क्लवका राजेन्द्र मोक्तानले बताए ।

२०७९ साल पुस २८ गते राति मनहरी ८ सिमपानीबाट मनहरी ९ ज्यामिरेतर्फ जाने क्रममा स्कुटरमा यात्रारत रहेका मिलन, धर्मराज र राक्सिराङ गाउँपालिका ३ का रुपेश तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।

दिवंगत व्यक्तिहरु खेलकुद तथा सामाजिक क्रियाकलापहरुमा सक्रिय ब्यक्ति हुनुहुन्थ्यो ।

लोकप्रिय

Related Articles