Monday, July 15, 2024

सात बर्षपछि आफ्नै भवन बनाउँदै मनहरी गाउँपालिका

ताजा / भरखरै प्राप्त

मनहरी–असार १ गते । तत्कालीन हाँडीखोला र मनहरी गाउँ विकास समितिलाई गाभेर निर्माण भएको मनहरी गाउँपालिकाले ७ बर्षपछि आफ्नै भवन बनाउने तयारी गरेको छ ।

आगामी आर्थिक बर्ष २०८१/०८२ मा आफ्नै भवन बनाउने गरी गौरवको आयोजनाका रुपमा गाउँपालिकाले बजेट छुट्याउन लागेको हो ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मनहरी गाउँपालिका वडा नं ९ रजैयास्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको ०.०२ हेक्टर क्षेत्रफल जग्गा गाउँपालिका भवन निर्माणका लागि मन्त्रीपरिषदबाट प्राप्त भएकाले नयाँ बन्ने नीति तथा कार्यक्रममार्फत बजेट बिनियोजन गरी कार्यान्वयन गर्न लागेको बताउनुभयो ।

‘निकै लामो झन्झटिलो काम सकाएर हामीले जग्गा पाएका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘अब द्रूतगतिमा गाउँपालिकाको आफ्नै भवन निर्माणमा हामी जुट्नेछौँ ।’

आवासबिहिन जनतालाई घर बनाइदिने निकायकै आफ्नै भवन नहुँदा नैतिकताको प्रश्न पनि तेर्सिएको बताउँदै अध्यक्ष कालाखेतीले अब आफ्नै भवन निर्माण गरेर विकास निर्माण र प्रशासनिक कार्यलाई अघि बढाइने बताउनुभयो ।

गाउँपालिका स्थापना भएपछि २०७३ सालमा मनहरी गाउँ विकास समितिको भवन रहेको (हालको ८ नं वडा कार्यालय) लाई पालिकाको प्रमुख प्रशासनिक भवन मानेर काम अघि बढाइएको थियो ।

निर्वाचन लगत्तै पूर्व राजनीतिक सहमति बमोजिम पहिलो गाउँसभाले २०७४ सालमा गाउँपालिकाको भवन वडा नं ९ रजैयामा स्थानान्तरण गरेपछि निरन्तर रुपमा भाडाको घरमा प्रशासनिक भवन चलिरहेको छ ।

साँघुरो घरमा गाउँपालिका सञ्चालन भइरहँदा तत्कालीन उपाध्यक्ष मनिला बिष्टको एकल पहलमा विवादै विवादका बीच मनहरी ३ स्थित लामिटारमा भवन निर्माण भएको थियो । अहिले सोही भवनमा शिक्षा, कृषि, सामाजिक, स्वास्थ्य, न्यायिक समिति लगायतका शाखाहरु सञ्चालित छन् ।

महिला, बालबालिका, आदिवासी जनजाति लगायत शीर्षकमा बिनियोजित रकम खर्चेर लामिटारमा भवन बनाउने र उक्त भवनमा बिषयगत समितिले नै कार्यालय वा प्रदर्शनी स्टलको रुपमा काम गर्ने अवधारणा उपाध्यक्ष बिष्टले ल्याएर भवन निर्माण गर्न थालेपछि तत्कालीन अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष बिष्टबीच द्वन्द्व सिर्जना भएर भुक्तानी समेत रोकिएको थियो ।

गाउँपालिकाले भुक्तानी नगरे जग्गा बेचेर भएपनि तिर्छु भन्दै उपाध्यक्षले एकोहोरो पेलान गरेपछि लामिटारमा भवन बनेको हो ।

अहिले त्यहाँ बनेको भवन, तालिम हल र सेफ हाउसमार्फत सरोकारवालाहरु र सेवाग्राहीहरुले सेवा लिइरहेका छन् भने सार्वजनिक जग्गाको अतिक्रमण समेत रोकिएको छ ।

पालिकाले आफ्नो ‘ख’ ब्लकको रुपमा यो भवनबाट सेवा दिएपनि तोक आदेश लिन र योजना फरफारक गर्न रजैयास्थित ‘क’ ब्लकमै आउनुपर्दा हैरानी खेप्नु परिरहेको छ ।

गाउँपालिकाले गौरवको आयोजनाको रुपमा प्रशासनिक भवन निर्माणलाई गौरवको आयोजनाको रुपमा आगामी आर्थिक बर्षका लागि अघि सारेको छ ।

त्यसैगरी आफ्नै लगानीमा निर्माण सम्पन्न भएका ३ वटा पक्की पुलको उद्घाटन र बाँकी दुईमध्ये एउटा पुल चालू आवकै असार मसान्तमा र अर्काे आगामी आवको मंसीरसम्म काम सम्पन्न गर्ने लक्ष्य लिएर गौरवको योजनाको रुपमा गाउँपालिकाले परिभाषित गरेको छ ।

त्यसैगरी संघीय सरकारको १ करोड समपुरक अनुदानमा बिनियोजित रकममा १ करोड रुपियाँ गाउँपालिकाको थप गरी वडा नं १, २, ३ र ४ नं जोड्ने लामिटार–चकरी सडक खण्डलाई पनि पालिकाले गौरवको आयोजनाको रुपमा लिएको छ ।

लोकप्रिय

Related Articles