कैलाश–जेठ ३१ गते । योजनाका लागि कुनै पनि निकायबाट बजेट नपर्दा पनि गाउँलेहरु तात्तिएर लाग्दा मोटर बाटो बनाउन सकिन्छ भन्ने उदाहरण कैलाश गाउँपालिका वडा नं ४ का स्थानीयबासीले प्रस्तुत गरेका छन् ।
जनताकै लगानी र सहभागितामा राक्सिराङ गाउँपालिका वडा नं ३ लावतीबाट कैलाश गाउँपालिका वडा नं ४ चम्पाखानीसम्मको ५ किलोमिटर बाटो निर्माण सम्पन्न भएको हो ।

उनीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर भीरैभीर भएको पहरा छिचोल्दै २.५ किलोमिटर नयाँ ट्रयाकसहित ५ किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । मोटरबाटो निर्माण सम्पन्न भएपछि गाउँमा बोलेरो गाडी, ट्रयाक्टर र मोटरसाइकल जान सक्ने स्थिति बनेको स्थानीय अगुवा बिष्णुलाल चेपाङले बताए ।
मोटरबाटो निर्माणका लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारलाई पटक पटक माग गर्दा पनि बजेट बिनियोजन नभएकाले गाउँलेहरु तातेर रकम संकलन गरी बाटोको कच्ची स्वरुपलाई पूर्णता दिइएको गाउँलेहरु बताए ।
स्थानीय देउराली समूहबाटठ ५ लाख ७२ हजार९ सय ७० रुपियाँ र जनश्रमदादन २ लाख ६१ हजार ६ सय रुपियाँसहित कूल ११ लाख ९ हजार ६ सय ७० रुपियाँ लागतमा बाटो निर्माण सम्पन्न गरी उद्घाटन गरिएको देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिंह थिङले बताउनुभयो ।
‘हामीहरुका दुःख कसैले पनि नबुझेपछि संस्थामा भएको अलि अलि रकम र व्यक्तिगत रुपमा संकलित रकमले बाटो बनायौँ’, अध्यक्ष थिङले भन्नुभयो । थिङकै प्रमुख आतिथ्यतामा चम्पाखानी गाउँमा बाटोको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका ३ नं वडाका निवर्तमान अध्यक्ष बाबुलाल स्याङ्तान, कैलाश गाउँपालिका ४ नं वडा सदस्य नेमराज प्रजा, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन लगायतकाको सहभागिता थियो ।
भीरपहरा भएर बनाइएको बाटोले स्थानीयबासिन्दाले सरिखेत हुँदै मनहरीस्थित राजमार्गको पहुँचमा जोडेको छ । बाटो निर्माणका लागि कैलाश गाउँपालिकाले ५ सय लिटर डिजेल, लालिगुराँश सिमेन्ट उद्योगबाट १४ घण्टा ब्रेकर मेसिन र राक्सिराङ गाउँपालिकाबाट १३ घण्टा मेसिन प्रदान भएको थियो ।
४४ जना व्यक्तिहरुले १ हजारदेखि २६ हजार रुपियाँसम्म चन्दा संकलन गरेर बाटो निर्माण सम्पन्न गरी उद्घाटन गरेको स्थानीय समाजसेवी केशव मुक्तानले जानकारी दिनुभयो ।