मनहरी–जेठ २५ गते । मनहरी गाउँपालिका ६ सुनाचुरीस्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता महिला सदस्यहरुको सीप विकासका लागि सञ्चालन गरेको ६ महिने बेसिक तथा एडभान्स सिलाइ कटाइ तालिमको समापन गरेको छ ।
समापन समारोहमा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।
पुरुषकै कमाइमा महिलाहरु बाँचिरहनु परेको र आश्रित हुनुपरेको सन्दर्भ कोट्याउँदै उहाँले पुरुषले राम्रै हिसाबले सहकार्य गरिरहँदाको बखत ठीकै भएपनि पुरुषले आर्थिक स्रोत कटौती गरेका बखत महिलाहरुलाई समस्या हुने बताउनुभयो ।
‘महिलाहरु आफै आत्मनिर्भर हुनुपर्छ र यसका लागि स्थानीय सरकारले पनि लगानी गरिरहेको छ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘सामुदायिक वन समूहहरुले पनि यस्तो काम गर्नु अत्यन्तै सह्रानीय हो ।’
कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रबंशीले सामुदायिक वनको मान्यतालाई समुदायमा स्थापित गर्ने र जनसहभागिता बृद्धि गर्ने कुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
महिला सहभािगताका बिषयलाई सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले ध्यान दिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
वन समूहकी अध्यक्ष पार्वती मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नं वडाध्यक्ष युवराज थपलिया, सव डिभिजन वन कार्यालय प्रमुख दामोदर पाण्डे, सञ्चारकर्मी शिवकुमार काशी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
सोही समारोहमा प्रशिक्षक र सहभागीहरुका लागि प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
सोही समारोहमा वन समूहले आय आर्जन बृद्धिका लागि बोयर र जमुनापारी बोका बोका पनि बितरण गरेको थियो ।

