मनहरी–बैशाख २४ गते । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्वीकार गरी चलनचल्तीमा ल्याउने निर्णय गरेपछि मनहरीका तामाङ र नेवार समुदायका मानिसहरुले खुसी व्यक्त गरेका छन् ।
मनहरी गाउँपालिका ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा घोषित भएपछिको खुसीयालीमा आयोजित मैनबत्ती प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले खुसी व्यक्त गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाकार विकास पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङले आफूहरुले संसदमा हुँदा गरेको मिहेनतको फल प्राप्त गरेको सुनाउनु भयो ।
उहाँले आफूले बागमती प्रदेशको नाम पनि नेवा ताम्सालिङ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएको सम्झँदै भन्नुभयो–‘इतिहाँस खोज्नुहोला, मैले त्यो नाम दर्ता गराएको थिएँ तर बहुसंख्यक तामाङ र नेवार सांसद मित्रहरुले आँट गर्नु भएन ।’
उहाँले प्रदेश सरकारले बहुमत जनसंख्याको कदर गर्दै तामाङ र नेवार जाति समुदायका भाषामै सरकारी कामकाज चलाउने बिषयले दबिएर बसेका समुदायले पनि संघीय गणतन्त्रमा स्थान पाउँछन् भन्ने उदाहरण प्रस्तुत गरेको सुनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव बीरबहादुर घलान (ज्वाला) ले तत्कालीन भूगोल एकीकरणका लागि पृथ्वीनारायण शाहलाई धन्यवाद दिनेबारे छलफल गर्न सकिने भन्दै उनैले भनेजस्तो चार जात छत्तीस बर्णमाथि उनैले धावा बोलेको बताउनुभयो ।
‘उहाँ आफैले बहुसंख्यक जाति र समुदायमामथि विभेद गरी एकल जात र एकल धर्मलाई आत्मसात गर्दा देशको विकास हुन सकेन’, सचिव ज्वालाको भनाई थियो । त्यतिखेरको गल्तीका कारण नेपाल विकासका दृष्टिकोणले ३ सय बर्ष पछाडि धकेलिएको उहाँको भनाई थियो ।
संघीयता प्राप्तपछि तत्कालीन अबस्थामा बिग्रिएको शासन व्यवस्थालाई सच्याउँदै लैजाने क्रममा तामाङ र नेवार समुदायमाथि बल्ल न्याय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका गौतम लामा, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरसहित सरोकारवालाहरुले भाषिक समस्याका सम्बन्धमा आफ्ना अनुभवहरु आदान प्रदान गर्नु भएको थियो । यसरी अनुभव साँटासाँट गर्नेहरुमा नेवार समुदायका अगुवाहरु अमृतलाल श्रेष्ठ, पन्चलाल गोपाली, कृष्णराम श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, अनिता कर्माचार्य लगायत हुनुहुन्थ्यो ।
त्यसैगरी तामाङ समुदायका अगुवाहरु खुसीलाल मुक्तान, बाबुराम थिङ बाबु, गोविन्द ग्लान गोपी, मनोज मुक्तान, जयराम मुक्तान, राजकुमार स्याङ्बो, गोविन्द थिङ लगायत हुनुहुन्थ्यो ।
युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार काशीले सहजीकरण गर्नु भएको कार्यक्रम विद्यालयका व्यवस्थापक दिलबहादुर स्याङ्बोको सभाध्यक्षता रहेको थियो ।
सो अबसरमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय स्वागत गर्दै मैनबत्ती समेत प्रज्वलन गरिएको थियो ।