Friday, September 13, 2024

कला, साहित्य र संस्कृति प्रवर्धनमा पनि बजेट विनियोजन हुन्छः अध्यक्ष कालाखेती

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २४ गते । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले मनहरी गाउँपालिकाले कला र साहित्य क्षेत्रमा पनि बजेट विनियोजन गरिने बताउनुभएको छ ।

मृग तृष्णा कला साहित्य डबलीको ८ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । गाउँपालिकाले हालसम्म भौतिक विकासका कामलाई मात्रै प्राथमिकताका साथ बजेट विनियोजन गरेको स्विकार्नुहुँदै आगामी दिनमा कला, साहित्य र संस्कृति प्रवर्धनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कला, साहित्य र संस्कृति प्रवर्धन नै मनहरीको चिनारी रहेको बताउनुहँदै उहाँले आगामी बजेटमा प्राथमिकता दिइने बताउनुभएको हो ।

मृग तृष्णा कला साहित्य डबलीको ८ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाले अध्यक्ष र उपाध्यक्ष बाहेक अन्य पदमा नयाँ व्यक्ति चयन गरेको छ । सभाले महा सचिवमा तत्कालिन सचिव रविन्द्र थिङलाई बढुवा गरेको छ भने सचिवमा तत्कालिन कोषाध्यक्ष शिव कुमार रिजाललाई जिम्मेवारी दिइएको छ । त्यस्तै कोषाध्यक्षमा शुक्र बहादुर प्रजालाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सुमन गिरी, कुमार घिसिङ र हिरालाल पाख्रिनलाई चयन गरिएको छ । बाँकी ३ जना सदस्यहरु कार्य समितिको पहिलो बैठकले चुनिने बताइएको छ । संस्थाको अध्यक्षमा सुन्दर लामा र उपाध्यक्षमा बुद्धिमान घिसिङ यथावत कायम गरेको हो ।

डबलीका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने निवर्तमान बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विशेष अतिथि ग्लानले मोफसलमा रहेर कलम चलाउने हातहरुलाई अघि बढाउन यो संस्थाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

वि.सं. २०५७ सालमा स्थापना भएको संस्था आधिकारिकरुपमा वि. सं. २०७२ सालमा दर्ता भई कला र साहित्य क्षेत्रमा कार्य गर्दै आइरहेको छ । शनिबार भएको भेलामा नयाँ सदस्यहरुलाई समेत स्थान दिइएको छ ।

श्चिम मकवानपुरको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गत रहेर कला र साहित्य क्षेत्रमा अभिरुचि राख्ने व्यक्तिहरुलाई समेटेर जाने उद्येश्यका साथ डबलीले नयाँ सदस्यता खुल्ला गरेको हो ।

कार्यक्रममा विशष अतिथि ग्लान, मनहरीका चलचित्र निर्देशक बाबु थिङ, कुमार घिसिङ लगायतकाले आफ्ना रचना समेत वाचन गरेका थिए भने मनहरी ८ का विदुर गिरिले लोपोन्मुख असारे भाकामा गीत गाउनुभएको थियो ।

लोकप्रिय

Related Articles