Sunday, September 15, 2024

मनहरीको बेलुवा बस्तीका घरटहरा उठाउने प्रक्रिया सुरु, ३५ दिन भित्र हटाउन सूचना जारी

ताजा / भरखरै प्राप्त

मनहरी–चैत २१ गते । मनहरी गाउँपालिका वडा नं ८ बेलुवा बगर अतिक्रमण गरी बनाइएका स्थायी र अस्थायी प्रकृतिका घरटहरा भत्काउने प्रक्रिया सुरु भएको छ ।

सडक डिभिजन हेटौँडाले आफ्नो स्वामित्वमा रहेको ती जग्गाहरुमा केही व्यक्तिहरुले अतिक्रमण गरी घर जग्गा बनाएको भन्दै ३५ दिनभित्र घर टहरा भत्काउन चेतावनीसहितको सार्बजनिक सूचना जारी गरेको हो ।

काठमाडौँबाट प्रकाशित कान्तिपुर राष्ट्रिय दैनिकको चैत २१ गतेको पत्रिकामा ३५ दिनको समयाबधि दिएर घर टहरा हटाउन भनिएको छ । सूचना अनुसार आगामी २०८१ साल बैशाख २४ गतेभित्र घर टहरा भत्काएर जग्गा खाली गर्न भनिएको छ ।

सार्बजनिक सूचना अनुसार साबिक ज्यामिरे पन्चायत वडा नं ३ र वडा नं ४ मा पर्ने तथा हाल मनहरी गाउँपालिका वडा नं ८ मा पर्ने ३४९ वटा कित्ता जग्गा खाली गर्न भनिएको हो । जस अनुसार साबिक ज्यामिरे पन्चायत वडा नं ३ अन्तर्गत ३३० वटा कित्ता र वडा नं ४ अन्तर्गत १९ वटा कित्ता रहेका छन् ।

सूचनालाई अटेर गरे जग्गा प्राप्ति ऐन २०३४ को दफा ३२ को उपदफा १ र २ अनुसार कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ । २०५० सालको भीषण बाढी बस्तीमा पसेर तहसनहस पारेपछि सरकारले उल्लेखित कित्ताका जग्गाधनीहरुलाई मुआब्जा दिएर ती जग्गाहरु सडक विभाग बबरमहलको नाउँमा कित्ता काट गरी लालपुर्जा कायम गरेको थियो । यद्यपि अझै केही जग्गाधनीहरुले मुआब्जा नपाएकाले आफूहरुले आफ्नो जग्गा उपभोग गर्नेगरेको बताएका छन् ।

सडक विभाग बबरमहलको नाउँमा रहेका ती जग्गाहरु अतिक्रमण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडामा उजुरी परेको थियो । उजुरीका सम्बन्धमा अख्तियारले कदम चालेपछि सडक डिभिजन कार्यालय हेटौँडाले आफ्नो स्वामित्वको जग्गा फिर्ता लिने प्रक्रिया अघि बढाएको हो ।

सार्बजनिक सूचना जारी गरी अटेर गरे बल प्रयोग गरेर समेत जग्गा खाली गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

लोकप्रिय

Related Articles