मनहरी–फागुन २९ गते । मनहरी बजारमा मुश्लिम समुदायको जग बसाल्ने मध्येका एक हाजी रमजान मियाको मंगलबार बिहान निधन भएको छ । ८३ बर्षका मियाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा निधन भएको हो ।
मधुमेहबाट ग्रसित हुनु भएका मियालाई पछिल्लो समय निमोनियाँ संक्रमण भएको थियो । ‘उहाँले निमोनियाँलाई जित्न सक्नु भएन’, मियाँका भतिज एबम् मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका उपाध्यक्ष जलाल दिन मियाँले भन्नुभयो ।
याँको पार्थिव शरीरलाई मनहरी ७ स्थित मुश्लिम समुदायका लागि निर्मित कब्रस्तानमा अन्त्येष्टि गरिने छ । २०३५ सालतिर मनहरी बजारको विकास नभइसक्दा नै मनहरी बजारमा आएर व्यापारमा लाग्नु भएका हाजी रमजान र उनका भाईको निरन्तर योगदानका कारण मनहरीमा मुश्लिम समुदायको बसोबास र व्यापार बाक्लो छ । मनहरीमा अहिले पनि दुईवटा मस्जिद सञ्चालनमा छन् भने मुश्लिम समुदायका व्यक्तिहरु विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय भएर लागेका छन् ।
हाजी रमजान मियाँ पनि राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, मनहरी बहुमुखी क्याम्पस, मनकामना सामुदायिक वन उपभोक्ता समूह लगायत थुप्रै संघसंस्थाहरुमा सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । जहाँ जुन संस्थामा पुगे पनि मनहरीको विकास गरौँ, होस्टेमा हैँसे गरौँ भन्दै उहाँ सबैलाई हौसला दिनुहुन्थ्यो । ‘आज मुश्लिम समुदायले मात्र अभिभावक गुमाएको छैन, मनहरीले नै अभिभावक गुमाएको छ’, उहाँका भतिज जलालले भन्नुभयो ।