मनहरी–फागुन १९ गते । राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ मा काम गरिरहेको दिगो विकासका लागि एकता नेपालको कार्यक्रमको प्रभावकारिता बुझ्नका लागि सामाजिक परिक्षण गरिएको छ । राक्सिराङ गाउँपालिका ६ शिलाधुनीस्थित काँकडा स्वास्थ्य चौकीमा सामाजिक परिक्षण गरिएको हो ।
दिगो विकासका लागि एकता नेपालले जर्मनीको लिसा हिमालय इभीसँग समन्वय गरी तीनवटा वडामा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अनुसार राक्सिराङ ६, ७ र ८ नं वडामा रहेका १६ विद्यालय र ६ वटा बाल विकास केन्द्रमा दिवा खाजासहित पोशाक, स्टेशनरी, छात्रबृत्ति, सरसफाई लगायतका थुप्रै सहयोगका कार्यक्रमहरु भइरहेका छन् ।
स्थानीय सरकारकाले गर्नुपर्ने शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका महत्वपूर्ण कामहरु संस्थाले गरिरहेको भन्दै सामाजिक परिक्षणको प्रतिवेदन सार्बजनिक कार्यक्रममा ६ नं वडाध्यक्ष अक्कलबहादुर मुक्तानले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले साबिक काँकडा गाविसतर्फका भूगोलमा भइरहेका कार्यक्रमहरुले निरन्तरता पाउनुपर्ने माग समेत गर्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले छात्राहरुलाई मात्र नभई पोशाक र अन्य स्टेशनरी लगायतका शैक्षिक सामग्रीहरु छात्रहरुले पनि पाउनुपर्ने सुझाव दिनु भएको थियो ।
संस्थाका कार्यक्रम व्यवस्थापक मदनकुमार ढोडरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडा सदस्य तिलकबहादुर मुक्तान, वडा नं ८ का वडा सदस्य दिलबहादुर स्याङ्तान, काँकडा स्वास्थ्यचौकीका प्रमुख सूर्यबहादुर थिङ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागतसहित उद्देश्यबारे परियोजना व्यवस्थापक अनिल पौडेलले स्पष्ट पार्नु भएको थियो ।