मनहरी–चैत ५ गते । बागमती प्रदेशका सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता आएकै कारण मनहरीका ठूला ठूला पुल लगायत भौतिक संरचनाहरु निर्माणको अबसर आएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो–‘संघीयता आएको थियो र हाँडीखोलामा पक्की पुल बन्ने अबसर मिल्यो । ’मनहरी गाउँपालिका वडा नं ९ रजैया र वडा नं ५ को दर्दरा गाउँ जोड्ने पक्की मोटरेवल पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री जम्कट्टेले आफू बागमती प्रदेश सरकारकै आर्थिक मामिला तथा योजना मन्त्री भएका बेला रजैया र दर्दरा जोड्ने राप्ती खोलाको पुलका लागि बजेट सुनिश्चितता भएको बताउनुभयो । यस क्षेत्रका माननीयहरु, संविधान सभा सदस्य, जनप्रतिनिधिहरु समेतको पटक पटक पहलपछि आफू आर्थिक मामिला तथा योजना मन्त्री हुँदा बजेट सुनिश्चितता गरी ठेक्का प्रक्रियामा अघि बढाएको पुलको शिलान्यास आफैले गर्न पाउँदा खुसी लागेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाले विभिन्न कालखण्डमा विभिन्न समयका माननीयहरुले बिशेष योगदान दिएकाले अहिले पक्की पुलको शिलान्यास गर्ने अबसर आएको बताउनुभयो ।
कतिपय अबस्थामा पुलका लागि योजना छनौट गर्ने बेलामा सरकारी कर्मचारीहरुले समेत धोका दिनेगरेको प्रसंग सुनाउँदै उहाँले विकास निर्माण कार्यमा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनु पर्ने र मनहरीले त्यो उदाहरण देखाएको बताउनुभयो ।
बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यसअघि झोलुंगे पुलका लागि पनि ठूलै रस्साकस्सी भएको अनेक राजनीतिका बाबजुत पुल बनाउन सफल भएको सुनाउनु भयो ।
पूर्व मन्त्री एबम् बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले विकास निर्माण कार्यमा राजनीतिक प्रतिशोधहरु कसैले पाल्नु नहुने बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, निवर्तमान अध्यक्ष एकराज उप्रेती, पुल सरोकार समितिका संयोजक रामप्रसाद कालाखेती, भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर बीरेन्द्र चौधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । ५ नं वडाका अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले स्वागत गर्नु भएको थियो ।



