राक्सिराङ–फागुन १५ गते । राक्सिराङ गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासका लागि तीन दिने तालिम प्रदान गरिएको छ ।
अविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरी ७ मकवानपुरले आवासीय तालिमको आयोजना गरेको हो । तालिममा राक्सिराङ गाउँपालिकाभरका ४० जना अपाङ्गता भएका व्यक्तिहरु सहभागी भएको अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोले जानकारी दिनुभयो ।
तालिममा राक्सिराङ गाउँपालिका सामाजिक विकास शाखा गोविन्द अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका सल्लाहकार गणेशचन्द्र दवाडी, महासंघका बागमती प्रदेश कार्यक्रम संयोजक सीता मल्ल ठकुरी, सञ्चारकर्मी शिवकुमार काशी, मनोसामाजिक परामर्शदाता सुमिरा लामा लगायतले सहजीकरण गर्नु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्व क्षमता बढाउन, सञ्चार सीपको विकास गर्न र आफूलाई सबल छु भन्ने महसुस गराउनका लागि तालिमको आयोजना गरिएको अध्यक्ष स्याङ्बोले बताउनुभयो । तालिममा सहभागी भएपछि अपाङ्गता भएका व्यक्तिहरुले उच्च मनोबल बनाएर घर फर्केको उहाँको भनाई छ ।
कार्यक्रमको समापन गर्दै राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अपाङ्गता भएका व्यक्तिहरुको पीरमर्कामा गाउँपालिकाले ध्यान दिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले आगामी योजना निर्माण र कार्यान्वयनका चरणमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा पनि ध्यान दिने बताउनुभयो ।
।