Saturday, September 14, 2024

मनहरी ५ मा भब्य रुपमा मनाइयो ४२ औं मगर एकता दिवस

ताजा / भरखरै प्राप्त

मनहरी–फागुन १५ गते । ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनहरी गाउँपालिका वडा नं ५ मा भब्य रुपमा मनाइएको छ । नेपाल मगर संघ मनहरी गाउँपालिका वडा नं ५ को आयोजनामा भएको दिवसमा मगर भेषभुषा र संस्कृति झल्किने विभिन्न नृत्यहरु प्रस्तुत भएको थियो ।

नेपाल मगर संघ मनहरी गाउँपालिका ५ का अध्यक्ष हरिबहादुर रानाको अध्यक्षता तथा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १०८ दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको थियो भने संघको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गा दाता डिलबहादुर आलेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम् मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले मगर समुदायले आफ्नो भेषभुषा तथा रीतिथिति जोगाउनका लागि प्रयत्न गरिरहेकामा धन्यवाद दिनुभयो । उहाँले सबै जातजातिका परम्परागत संस्कृतिलाई जोगाउन स्थानीय सरकार सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका कोषाध्यक्ष सरला थापा मगरले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा सल्लाहकार पानीमिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका ५ नं वडा सभापति अमृतबहादुर थापा, टोल विकास संस्थाहरुको तर्फबाट ऋषेश्वर टोल विकास संस्थाका नवराज उप्रेती, विद्यालयहरुको तर्फबाट मीनबहादुर घलान, बिशिष्ट अतिथि एबम् ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

मनहरी गाउँपालिका ५ नं वडामा ५६ घर परिवार मगर समुदायको बसोबास रहेको छ भने ३ सय जनसंख्या रहेका छन् । संघले स्थानीय स्तरमा हरेक बर्ष मगर दिवस मनाउँदै आएको मगर संघका कविन मगरले जानकारी दिनुभयो ।

लोकप्रिय

Related Articles