मनहरी–फागुन १२ गते । नेपाल तरुण दल मनहरीले पाँच राजनीतिक दलले गर्ने स्वस्थ र सकारात्मक खबरदारीको आत्मसात गर्ने जनाएको छ । तर, नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाको फोटोसहित गरिएको प्रदर्शनप्रति दलले आपत्ति जनाएको छ ।
नेपाल तरुण दल मनहरीका अध्यक्ष स्वतन्त्र उप्रेतीले विज्ञप्ती जारी गर्दै मनहरीमा साबिक हाँडीखोलातर्फ निर्माणाधीन ४ वटा पुल निर्माण ठेक्काका सांसद एबम् बागमती प्रदेश सभापति बानियाँको कुनै सम्बन्ध नरहेको दाबी गर्नुभएको छ ।
प्रतिपक्ष दलका हिसाबले खबरदारी गर्नु राम्रो भएपनि फोटोसहित व्यक्तिगत लान्छना लगाउने कार्य क्षम्य नहुने उप्रेतीले जनाउनु भएको छ । उहाँले विज्ञप्तीमा भन्नु भएको छ–‘स्वच्छ प्रतिस्पर्धा, सकारात्मक खबरदारीलाई हाम्रो गौरवशाली दलले सदैव आत्मसात गरी अघि बढ्ने कुरा सबैमा अनुरोधका साथ जानकारी गराउन चाहन्छु ।’
शुक्रबार बिहान मनहरीमा क्रियाशील नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, रास्वपा र राप्रपाले मनहरीका पुलहरु समयमै नबनेको, पाडापाडी खरिदमा अनियमितता भएको, मनहरी अस्पतालमा कमसल सामग्री प्रयोग भएको र राजश्व मिनाहा भएको भन्दै पुल निर्माण कम्पनीका सञ्चालकहरु शिव चौलागाई, बानियाँ र गाउँपालिका अध्यक्षको तस्वीर कालो ब्यानरमा उल्लेख गरी निर्माणाधीन पुल र मनहरी गाउँपालिका कार्यालयमा टाँसी विरोध जनाएको थियो ।