मनहरी–फागुन १२ गते । मनहरीमा क्रियाशील पाँच राजनीतिक पार्टीले मनहरी गाउँपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने गरी आह्वान भएको पाँचवटा पुल समयमै नबनेको लगायत बिषयहरुमा आन्दोलन सुरु गरेपछि नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले प्रतिवाद गरेको छ ।
नेपाली काँग्रेस गाउँपालिका सभापति प्रकाश बर्ताैलाले विज्ञप्ती प्रकाशन गरी पाँच राजनीतिक दलले बागमती प्रदेश सभापति समेत रहनु भएका इन्द्रबहादुर बानियाँको फोटो टाँस गरी चरित्र हत्या गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।
विज्ञप्तीमा निर्माणाधीन ४ वटा पुलको ठेकेदार हिराचन–बानियाँ जेभीले प्रतिस्पर्धात्मक रुपमा जिम्मेवारी पाएकामा उक्त ठेक्कामा कानूनी र व्यक्तिगत रुपमा सभापति बानियाँको संलग्नता नरहेको उल्लेख छ ।
संलग्नै नरहेको ठेक्कामा बानियाँको नाउँ जोडेर चरित्र हत्या गरिएको भन्दै गैरराजनीतिक व्यवहार नगर्न काँग्रेसले आन्दोलनरत पाँच राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।
ढुंगा, गिटी, बालुवाको अभाव, स्थानीय तह, प्रदेश र संघीय सरकारका बीच निकुन्ज र मध्यवर्ती क्षेत्रका प्राविधिक र व्यवहारिक कठिनाई भइरहँदा समेत २०८० चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने पनि नेपाली काँग्रेसले दाबी गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समेत चैत मसान्तसम्म चारैवटा पुल निर्माण सम्पन्न हुने जानकारी गराइसकेको अबस्थामा दबाबको नाउँमा गरिएको आन्दोलनले दबाबपछि पुल बनेको भन्ने सन्देश दिन मात्रै खोजेको काँग्रेसको आरोप छ ।
स्थानीय जनताको पक्षमा सहज सेवा प्रबाह गराउने पक्षमा काँग्रेस रहेकाले गठबन्धनमा समेत रहेको दललाई जानकारी नदिइकन पाँच दलको नाउँमा भइरहेको आन्दोलनले काँग्रेस आश्चर्यचकित भएको सभापति बर्ताैलाले उल्लेख गर्नु भएको छ ।
शुक्रबार बिहान मनहरी गाउँपालिकाका निर्माणाधीन पुलहरु समयमै निर्माण नगर्ने ठेकेदार भन्दै बागमती प्रदेश सांसद समेत रहेका काँग्रेस सभापति बानियाँ, अर्का ठेकेदार कम्पनीका शिव चौलागाई, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको तस्वीर कालो ब्यानरमा राखेर मनहरी गाउँपालिका कार्यालय र निर्माणाधीन पुलहरुमा पाँच दलका नेता कार्यकर्ताले टाँसेका थिए ।
पुलहरुको निर्माण ढिलाईसँगै पाँच दलले पाडापाडी खरिदमा भएको अनियमितता, मनहरी अस्पतालमा भएको कमसल सामग्री प्रयोग, राजश्व मिनाहा गरिएको भन्ने बिषय र गाउँपालिका अध्यक्षले निजी सबारी साधनमा सरकारी ढुकुटी खर्च गरेको घटनालाई उजागर गर्न चाहेका छन् । पाँच दलमा स्थानीय सरकारका सहयात्री दल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भई निर्वाचन भएकामा कालाखेती काँग्रेसबाट अध्यक्षमा निर्बाचित हुनु भएको हो भने उपाध्यक्षमा माओवादी केन्द्रका सीता पुलामी निर्बाचित हुनु भएको थियो ।
गठबन्धनपछि एमालेले मनहरीको ९ नं वडामा मात्रै ४ जना सदस्य जित्न सफल भएको छ भने एकल निर्वाचनमा गएको नेकपा एकीकृत समाजवादी र राप्रपाको स्थानीय सरकारमा सहभागिता छैन । राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव हुँदाताका स्थापना नै भएको थिएन ।