Tuesday, May 21, 2024

पाँचौ मनहरी महोत्सवमा माछा र तामाको स्वाद लिन पाइने

ताजा / भरखरै प्राप्त

मनहरी–माघ १४ गते । मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सव २०८० सुरु हुन अब दुई दिन मात्र बाँकी छ ।

माघ १६ गते दिउँसो महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ । यसअघि मनहरी ७ मनकामना मन्दिर परिसरबाट निकालिने शोभायात्राको स्थान परिबर्तन गरिएको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।

मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट शोभायात्रा निकाल्नेगरी तयारी गरिएको छ । १५० वटा स्टल रहेको महोत्सवमा स्टल र स्टेज निर्माण कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक शिवशंकर स्याङ्तानले बताउनुभयो ।

महोत्सवमा ३० वटाभन्दा बढी स्थानीय व्यवसायी, व्यापारी र प्रदर्शकहरुले बुकिङ गरेका छन् । अन्य स्टलहरु बाहिरबाट आउने तयारी छ । यसैबीच मनहरीको पहिचानको रुपमा रहेको तामा र माछाको स्वाद चखाउने तयारी गरिएको छ ।

मनहरी गाउँपालिका ४ मा रहेको भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले तामा र माछाको स्वाद दिलाउने गरी स्टल बुकिङ गरेको छ । स्टलमा जिउँदो माछा समेत राखिनेछ भने माछाको मम, माछा फ्राइ, माछाको सेकुवा समेत बिक्री गरिने प्रालिका सञ्चालक खेमराज गुरुङले बताउनुभयो ।

‘मनहरीको पहिचान भनेकै माछा र तामा हो’, आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले भन्नुभयो–‘यसपटकको जाडो याममा महोत्सव परिसरमै तामा र माछाको स्वाद चखाउने व्यवस्था मिलाएका छौँ ।’

पाँचौ सृंखलाको मनहरी महोत्सवमा राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रचारप्रसार प्रबद्र्धन गर्ने आयोजकले उद्धेश्य राखेको छ ।

लुकेका प्रतिभाहरुलाई उजागर गर्दै राष्ट्रि स्तरका कलाकारहरुको प्रस्तुतिलाई समेत महोत्सवमा जोडिएको प्रचार प्रसार उपसमिति संयोजक राजु राउतले बताउनुभयो । कोरोनाका कारण २०७५ सालदेखि रोकिएको महोत्सव ५ बर्षको अन्तरालमा आयोजना हुन लागेको हो । पाँचौ मनहरी महोत्सव ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

लोकप्रिय

Related Articles