मनहरी–माघ १५ गते । माघ १६ गतेबाट सुरु हुन लागेको पाँचौ मनहरी महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मनहरी खोला किनारस्थित महोत्सव स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्टल र स्टेजको साजसज्जाका केही काम उदघाटन अघि नै सकिने गरी काम अघि बढेको जनाएको छ ।
समितिका सभापति गणेशमान मानन्धरका अनुसार महोत्सवको उदघाटन पूर्व गृहराज्यमन्त्री एबम् बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ । उद्घाटनअघि मनहरी गाउँपालिका वडा नं ८ स्थित कार्यालय परिसरबाट शोभायात्रा निकालिनेछ ।
शोभायात्रामा विभिन्न जातजाति, धर्म र भेषभुषाबाट सज्जित पहिचानसहितका संघसंस्थाहरुले सहभागिता जनाउनेछन् । महोत्सवमा १५० वटा स्टल राखिएको आयोजकले जनाएको छ । दैनिक रुपमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा स्थानीय कृषि, पर्यटन लगायतका बिधालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । महोत्सवमा चेपाङ, तामाङ, बनकरिया समुदायको जीवनशैली झल्कने स्टलहरु प्रदर्शनीमा छन् ।
महोत्सवलाई ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका सभापति मानन्धरले बताउनुभयो । महोत्सवको संरक्षकमा मनहरी गाउँपालिका रहेको छ भने सह आयोजकमा राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ ।
महोत्सव सफल पार्नका लागि मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले २३ वटा उपसमितिहरु गठन गरी परिचालन गरेको थियो । ५ बर्षको अन्तरालमा हुन लागेको महोत्सवमा टिकट शुल्क ७० रुपियाँ र विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको समितिका महासचिव पदमबहादुर तितुङले जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, पश्चिम क्षेत्र समितिका निवर्तमान सभापति नारायण सुवेदीसहित बरिष्ठ उपसभापति रामचन्द्र उप्रेती, महासचिव पदमबहादुर तितुङ लगायत पदाधिकारीहरुको सहभागिता थियो ।