मनहरी–माघ १२ गते । मनहरी अस्पतालको सेवा सुविधा सुधार गर्नुपर्ने, सडकपेटीलाई क्लियर गरेर विद्यार्थीहरु हिँड्ने सहज वातावरण बनाउनुपर्ने र वन्यजन्तुको क्षति न्यूनिकरणका लागि भूमिका खेल्नुपर्ने बिषयमा मनहरीका सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
मानव अधिकार समूह मनहरीको बैठकमा सरोकारवालाहरुले यस्तो चिन्ता गरेका हुन् । समूहका सदस्य गोरखनाथ श्रेष्ठले वन्यजन्तुका कारण मानव बस्ती र मानव जीवनमा क्षति पुगिरहेको भएपनि क्षतिपूर्तिका सन्दर्भमा ऐलानी जग्गामा बसोबास गर्नेहरुमाथि अन्याय भइरहेको बताउनुभयो ।
त्यसैगरी बैठकमा मनहरी अस्पतालको टिकट घरमा कार्यरत कर्मचारीहरुको व्यवहारलाई जनमैत्री, सरल र सहज बनाइनुपर्ने सुझाव प्राप्त भएको थियो भने बिरामीका लागि प्रतिक्षालय व्यवस्थित हुनुपर्ने बिषय उठान भएको थियो ।
समूहकी अध्यक्ष बिमला गोपालीको अध्यक्षतामा भएको बैठकमा मनहरी गाउँपालिका ८ नं वडाका अध्यक्ष नारायण उप्रेतीले सडक पेटीलाई फराकिलो बनाएर विद्यार्थीहरु विद्यालय जाने पैदल मार्गलाई व्यवस्थित बनाइनुपर्ने बताउनु भएको थियो ।
मनहरी अस्पतालका इन्चार्ज डा. बिजय साह कानू र सिनियर अहेब ज्योतिराज लुइँटेलले मनहरी अस्पतालप्रति उठेका सबालहरुलाई गम्भिरताका साथ लिएर सुधारका लागि प्रयत्न गरिने बताउनु भएको थियो । उहाँहरुले मनहरी अस्पतालबाट उपलब्ध भएका सेवाहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदीले महिला हिंसाका अनेकन घटनाहरु आइरहेकाले सबै मिलेर समाजमा शान्ति स्थापनाका लागि भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा इलाका प्रहरी कार्यालय मनहरीका प्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरु, सञ्चारकर्मी तथा मानव अधिकार समूहका सल्लाहकार एबम् सदस्यहरुको सहभागिता रहेको थियो ।