मनहरी–माघ १२ गते । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) मनहरी गाउँपालिका कमिटीको अध्यक्षमा पुनः कृष्ण रुम्बा झाँक्री चुनिनु भएको छ । शुक्रबार भएको छैटौँ गाउँ सम्मेलनले झाँक्रीलाई निर्विरोध अध्यक्षमा चयन गरेको वाइसीएलले जनाएको छ ।
उपाध्यक्षमा राजन गिरी, शुकराम मुक्तान र अभि राना प्रजा चयन भएको छ । त्यसैगरी सचिवमा अमन लामा, सहसचिवमा जीवन बिष्ट, कोषाध्यक्षमा अमृता सुवेदी चयन हुनु भएको छ । वाइसीएल मनहरीका इन्चार्ज इश्वर थापा (थापाकाजी) का अनुसार सम्मेलनले सबै वडालाई समेटेर २९ सदस्यीय कमिटी बनाएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य एबम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विकास निर्माणका काममा युवाहरु जोडिनुपर्ने बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि युवाले नेतृत्व लिनुपर्ने र गाउँसमाजमा भइरहेका अपारदर्शी कार्यहरुको वाइसीएलले भण्डाफोर गरेर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य घनश्याम दाहाल, बागमती प्रदेश उपाध्यक्ष एबम् सांसद प्रेमबहादुर पुलामी, बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान ज्वाला, जिल्ला पार्टी संयोजक सर्केश घलान, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुवेदी, मनहरी इन्चार्ज राजकुमार पाख्रीन, मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, वाइसीएलका नेता एबम् ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी, वाइसीएल जिल्ला अध्यक्ष लवराज ठकुरी, सचिव मुक्ति लामा, मनहरी इन्चार्ज इश्वर थापा (थापाकाजी) लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।