Wednesday, December 11, 2024

रोटरी मार्केट व्यवस्थापनको जिम्मा मनहरी समृद्ध सहकारीले लिँदै

ताजा / भरखरै प्राप्त

मनहरी–माघ ८ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको पुरानो भवनमा रहेको रोटरी मार्केटको व्यवस्थापकीय जिम्मेवारी सहकारीले लिने भएको छ ।

मनहरी ९ ज्यामिरेमा मुख्य कार्यालय रहेको मनहरी समृद्ध बहुद्देश्यीय सहकारीले रोटरी मार्केटको जिम्मेवारी लिने तयारी भएको हो ।

यसअघि एस एण्ड टी राई मार्केटले रोटरी माध्यमिक विद्यालयसँग सम्झौता गरी १५ बर्षका लागि रोटरी मार्केट व्यवस्थापनको जिम्मेवारी लिएको थियो । तर, सोचेजसरी व्यवस्थापन गर्न नसकेपछि एस एण्ड टी मार्केट पछि हटेको हो । राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र मनहरी समृद्ध बहुद्देश्यीय सहकारी संस्थाबीच रोटरी मार्केट व्यवस्थापनबारे सम्झौता हुने अन्तिम तयारी रहेको बताइएको छ ।

यसैबीच मनहरी समृद्ध बहुद्देश्यीय सहकारीले रोटरी मार्केटमा रहेका व्यवसायीहरु, मकवानपुर उद्योग बाणिज्य संघ, सञ्चारकर्मी लगायत सरोकारवालाहरुसँग छलफल गरेको छ । सहकारीका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रोटरी माध्यमि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानिया, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपसभापति रामचन्द्र उप्रेती र महासचिव पदमबहादुर तितुङसहितको टोलीले रोटरी मार्केटलाई व्यवस्थित बनाउने आगामी दिनमा चाल्नुपर्ने कदमहरुका बारेमा व्यवसायीहरुसँग छलफल गर्नु भएको हो ।

छलफलका क्रममा व्यवसायीहरुले सटर भाडा घटाउनुपर्ने, मार्केटको सौन्दर्य बृद्धिका लागि सरसफाईमा ध्यान दिनुपर्ने, पार्किङ र शौचालय लगायतका बिषयहरुमा ध्यान दिनुपर्ने लगायका सुझावहरु राखेका थिए । प्राप्त भएका सुझावका आधारमा रोटरी मार्केटलाई व्यवस्थित गर्दै लगिने मनहरी समृद्ध बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

लोकप्रिय

Related Articles