मनहरी–पुस २२ गते । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीले भन्नु भएको छ–‘राजनीतिकमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन् ।’ अझ विकास निर्माणको सबालमा झन् राजनीतिक दुश्मनी कसैले लिनै हुँदैन ।
यही कुरालाई चरितार्थ गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकामा मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रतिनिधिसभा सदस्य महेशकुमार बर्ताैला र प्रदेश सांसद इन्द्रबहादुर बानियाँ भोलि पुस २३ गते आउँदै हुनुहुन्छ । गाउँपालिकाको हिउँदे अधिबेसनको उद्घाटन सत्रको निहुँ पारेर तीनैजनालाई अध्यक्ष राजकुमार मल्लले एकै मञ्चमा भेला पार्न लाग्नु भएको हो ।
‘राक्सिराङको मोटर बाटो र पुल निर्माणका लागि उहाँहरुलाई देखाउनै पर्ने, सुनाउनै पर्ने केही बिषयहरु छन्’, अध्यक्ष मल्लले भन्नुभयो–‘तीनतिर ढल्किएका तीनै पार्टीका भिआइपीलाई ल्याएर राक्सिराङले सम्मान गर्न चाहेको पनि हो ।’
अध्यक्ष मल्लका अनुसार मनहरी–आदमघाट (परेवाभीर हुँदै जाने) बाटो निर्माण कार्य, भण्डारा–खैराङ–डाँडाबास सडक निर्माण कार्य जस्ता ठूला सडकहरुको निर्माण र त्यसमा आवश्यक हुने पक्की पुल निर्माण लगायतका बिषयहरुमा मुख्यमन्त्री, संघीय सांसद र प्रदेश सांसदहरुलाई ध्यानाकर्षण गराउने लक्ष्य छ । त्यससँगै चेपाङ संरक्षित क्षेत्र घोषणाको पहल गर्ने, गाँजाखेतीको बैधानिकताको सबाल लगायत राक्सिराङका चेपाङ, तामाङ, दलित समुदायको जीवनस्तर उकास्नका लागि गरिनुपर्ने पहल कदमीका सन्दर्भमा उहाँहरुलाई आमजनताका माझ प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएकाले एकै ठाउँमा भेला गर्न लागिएको हो ।
नेकपा माओवादी केन्द्रबाट नेतृत्व गरी बागमती प्रदेशको मुख्यमन्त्री बन्नु भएका जमकट्टेल, प्रतिनिधिसभामा गठबन्धनलाई समेत पराजित गरी सांसद बन्नु भएका बर्ताैला र बागमती प्रदेशको मुख्यमन्त्री हुने दौडमा दोस्रो पटक यही क्षेत्रबाट निर्बाचित बानिया फरक फरक राजनीतिक स्कुलबाट उदाएका नेताहरु हुन् र राजनीतिक रुपमा अघोषित प्रतिस्पर्धीहरु समेत हुन् ।