Tuesday, January 14, 2025

६५ घरधुरी चेपाङलाई लालपुर्जा दिन सबै पक्ष लचिलो

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस २२ गते । मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिकामा २०३४ सालदेखि बसोबास गर्दै आइरहेका ६५ जना चेपाङ परिवारलाई भूस्वामित्व प्रदान गर्नका लागि राजनीतिक रुपमा सहमति जुटेको छ । यद्यपि, लालपुर्जा प्रदान गर्नेगरी प्रक्रिया अघि बढाउन बाँकी छ ।

राक्सिराङ गाउँपालिकाको चैनपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न कालखण्डमा तत्कालीन प्रजा विकास कार्यक्रमको नाममा जग्गा खरिद चेपाङ परिवारलाई बितरण गरिएको जग्गाको स्वमय् जग्गाधनीलाई नै लालपुर्जा दिन सरोकारवालाहरु आँतुर देखिएका हुन् ।

प्रजा विकास कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिका ५ चैनपुर, ठाडेचुरी, राक्सिराङ गाउँपालिका ३ को घट्टेखोला, राक्सिराङ गाउँपालिका ७ को गर्लिङ र मनहरी गाउँपालिका ७ को प्याङ्चे र मनहरी गाउँपालिका ८ को मुस्लेमा जग्गा खरिद गरी चेपाङलाई बितरण गरी बस्ती स्थापना गरिएको थियो ।

कूल १० बिगाह १० कट्ठा १६ धूर र २७ रोपनी ९ आना १३ पैसा जग्गा खरिद गरी तत्कालीन प्रजा विकास कार्यक्रम अन्तर्गत ६५ घर परिवार चेपाङलाई उपलब्ध गराइएको तत्कालीन जिल्ला विकास समितिका कर्मचारी एबम् चेपाङ क्षेत्रमा ३३ बर्ष कार्य गरेका राजाराम थापाले बताउनुभयो ।

‘ओढारमा जीवन बिताउँदै आएका चेपाङलाई नयाँ घर बनाइदिएर सरकारले बनाइदिएको घरमा नबसे जेल हाल्छु समेत भनेर मैले व्यवस्थापन गरेको सम्झन्छु’, थापाले भन्नुभयो–‘घरभित्र भूतप्रेतको बास हुन्छ भनेर बस्न नमानेका मान्छेहरुको जीवन अहिले उत्तरार्धतिर छ, उनीहरु जीवित हुँदै लालपुर्जा हस्तान्तरण गर्दा धेरै राम्रो हुनेछ ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले आफूहरुले पटक पटक ती बस्तीहरुको अनुगमन गरिसकेको बताउँदै उनीहरुलाई लालपुर्जा दिन आफूहरु सदैब तयार रहेको र प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले अब गाउँपालिकाले गाउँसभाबाट पास गरेर ती बिषयहरु जिल्लासभामा पठाउनुपर्ने र जिल्ला समन्वय समितिले प्रक्रिया अघि बढाएर जतिसक्दो छिटो पुर्जा दिनका लागि पहल गर्ने बताउनुभयो ।

उपप्रमुख सानुकाजी लुइँटेलले पनि यो छलफल र अन्तरक्रियाको बिषय नभएर पुर्जा प्रदान गर्ने बिषय हो भन्दै आफूले निरन्तर यसबारेमा पहल गरिरहेको र पुराना सबै कागजपत्रहरुको संकलन जिल्ला समन्वय समितिको तर्फबाट भइरहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ विकास कार्यक्रमलाई रोक्ने र चेपाङ संरक्षित क्षेत्र घोषणा गरी थप बजेट व्यवस्थापन गर्ने कार्यलाई रोकेर सरकारले अन्याय गरिरहेको बताउनुभयो ।

संविधानसभाका सदस्य एबम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङलाई भूस्वामित्व प्रदान गर्नका लागि सबै क्षेत्र, तहबाट भइरहेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले राक्सिराङ गाउँपालिकाले निर्माण गरेको चेपाङ संग्रहालयलाई राष्ट्रिय संग्रहालयको रुपमा विकास गरिनुपर्ने धारणा राख्नुभयो ।

सभाध्यक्षको आसनबाट बोल्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने कुरा र चेपाङ समुदायले सहुलियत पाउने कुरामा प्रदेश सरकार र संघीय सरकार चुकेको बताउनुभयो ।

स्थानीय स्तरबाटै सरकार सञ्चालन गर्ने ठाउँमा नेताहरु नपुगेसम्म चेपाङको मुद्दा उठ्ने वातावरण समेत नबनेको उहाँको भनाई थियो । ‘जसको लागि विकास गर्ने हो, उसैको सहभागिता भएन भने त्यो विकास गतिलो हुँदैन’, अध्यक्ष मल्लले भन्नुभयो–‘अहिले हामीले दिएको सुझावको आधारमा चेपाङ, चिउरी र चमेरो कार्यक्रमको कार्यविधि बनेको छ, जहाँ हामीसहित सबै चेपाङ समुदायको सहभागिता थियो ।

कार्यक्रममा चेपाङ संघका पूर्व कोषाध्यक्ष रविन्द्रकुमार चेपाङ, बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, ५ नं वडाध्यक्ष हरिबहादुर प्रजा लगायतले पनि धारणा राख्नु भएको थियो । फियान नेपालले आयोजना गरेको कार्यक्रममा राजेन्द्र बस्नेतले सहजीकरण गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles