Wednesday, January 15, 2025

हिमराइट्सद्वारा प्रजा जागृतिका २७ विद्यार्थी परिवारलाई खाद्यान्न प्रदान

ताजा / भरखरै प्राप्त

राक्सिराङ–पुस २२ गते । मानव अधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था हिमराइट्स मकवानपुरले राक्सिराङ गाउँपालिका ५ स्थित प्रजा जागृति माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीका परिवारलाई खाद्यान्न प्रदान गरेको छ ।

हिमराइट्सले आर्थिक अभावका कारण पढाइबाट बन्चित हुने सम्भावना भएका र पढाइ छाडेर श्रममा जाने जान सक्ने जोखिममा रहेका विद्यार्थीका परिवारलाई चामल, चिउरा, दाल, तेलसहितका खाद्यान्न बितरण गरेको हो ।

हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक अभावका कारण पढाइबाट बन्चित नहोस् भन्ने उद्देश्यले विद्यार्थीका परिवारलाई खाद्य सामग्री बितरण गरिएको बताउनुभयो ।

खाद्यान्न हस्तान्तरण गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले खाद्यान्न, स्टेशनरी तथा पोशाकजस्ता कुराहरुको व्यवस्थापनले गर्दा विद्यार्थीहरु विद्यालयमा आउने वातावरण तयार हुने र बालबालिकाकालाई पनि पढाई सहज हुने भन्दै हिमराइट्सलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, सञ्चारकर्मीहरु, २७ जना विद्यार्थीका अभिभावकहरु, शिक्षक लगायतको सहभागिता रहेको थियो । प्रधानाध्यापक सूर्यबहादुर प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन अधिकारवादी एबम् माइती नेपालकी संयोजक माया लामाले गर्नुभएको थियो ।

प्रजा जागृति माध्यमिक विद्यालयमा झैँ वडा नं ३ स्थित सूर्याेदय माविका २३ जना, मनहरी गाउँपालिका ६ स्थित सगरमाथा आधारभूति विद्यालय र वडा नं ३ स्थित प्रजा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत गरी जिल्लाभर एकसय जना विद्यार्थीका परिवारले खाद्यान्न प्राप्त गर्नेछन् ।

हरेक बर्ष विभिन्न समयमा खाद्य सामग्री प्रदान गरी हिमराइट्सले उनीहरुलाई विद्यालयमा आउने र अध्ययनको वातावरण बनाउने प्रयास गरिरहेको छ ।

लोकप्रिय

Related Articles