राक्सिराङ–पुस १५ गते । राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासनिक भवन रहेको वडा नं ५ चैनपुरस्थित मनहरी खोला किनारमा पाक्षिक हाटबजार सुरु भएको छ ।
२०८० सालकोको पहिलो हाट बजारको रुपमा पुस १५ गते जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पानसमा बत्ती बालेर हाट बजारको उद्घाटन गर्नुभयो ।
राक्सिराङ गाउँपालिकाले स्थानीय कृषि उपजको प्रवद्र्धन, बिक्री, बितरण र गाउँसमाजका किसान, व्यापारी र सरोकारवालाहरुको भेटघाट र छलफल सहजै होस् भन्ने हेतुले पाक्षिक रुपमा हाट बजार सुरु गरेको जनाएको छ । हाटबजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ ।
हाट बजारको व्यवस्थापनका लागि कोपिला गोलेको संयोजकत्वमा हाटबजार व्यवस्थापन समिति समेत गठन गरिएको छ । हाटबजारका लागि निर्मित २० वटा स्टलहरु पहिलो दिनको हाटबजारमा पूर्ण रुपमा भरिभराउ देखिन्थे ।
स्थानीय उत्पादनहरु गहत, मास, फापर, कोदा, आलु, पिँडालु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नुको झोल रहेका होटलहरु, स्थानीय जातका खसी, बोका, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मौरीको मह लगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेका थिए ।
पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाका १ गते र १५ गते बन्द हुने हुँदा मनहरी बजारबाट जम्मा ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीहरुलाई समेत आकर्षण गर्ने लक्ष्य हाटबजारले लिएको छ ।
हाटबजार अघिल्लो बर्षभन्दा अझ सुदृढ र प्रभावकारी ढंगले चलाउन लागिएको प्रचार प्रसार उपसमितिका संयोजक एबम् सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको हाटबजारको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान प्रमुख अतिथि हुनुहुन्थ्यो भने गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा ३ नं वडाध्यक्ष उत्तम वाइबा, ७ नं वडाध्यक्ष रामबहादुर प्रजा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सागर प्रजा, नेपाली काँग्रेसका सभापति बीरेन्द्र जिम्बा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा २ नं वडाध्यक्ष बुद्धराम मुक्तान, नेपाल चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष खुसीलाल प्रजासहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सञ्चारकर्मीहरु लगायतको सहभागिता थियो ।
कार्यक्रममा स्थानीय कलाकारसहित गन्धर्व उत्थान समाजका गायकहरुले सारंगीमा गीत गायन, खैँजडी भजन समूहको टोलीद्वारा खैँजडी भजन, जलपरी सांस्कृतिक समाजका कलाकारहरुद्वारा नृत्य प्रस्तुत भएको थियो ।
तस्वीरमा हेर्नुहोस् हाट बजार झलक । तस्वीरः शिवकुमार काशी, ज्ञानेन्द्र तामाङ र इश्वर थापा (थापाकाजी)
सिस्नुको झोल र कोदोको ढिँडोको परिकार ।
बिक्रीका लागि राखिएको उसिनेको तरुलको परिकार ।
फापरको सेलरोटी ।
फापरको सेलरोटी पकाउँदै ।
स्थानीयस्तरमा उत्पादिन मौरीको मह ।
बिक्रीका लागि स्थानीयस्तरमा उत्पादित पिँडालु ।
आरनमा निर्मित फलामे औजारहरुको बिक्री स्टल ।
घरेलु सामग्रीहरुको व्यापार ।
व्यापारको क्रममा महिला उद्यमीहरु ।
उच्च भेगमा उत्पादित रायोको साग ।
राक्सिराङमा एक सहकारीले बिक्रीका लागि व्यवस्थापन गरेको मास, गहत, मस्याङ लगायत गेडागुडी ।
बिक्रीका लागि राखिएको तोरीको गुन्द्रुक र भटमास । तोरीको गुन्द्रुक प्रतिकेजी १ हजार रुपियाँमा बिक्री भएको छ ।
हाट बजारको स्टल ।