मनहरी–पुस २ गते । पश्चिम मकवानपुरको तीनवटा गाउँपालिकालाई सेवा दिनुपर्ने मनहरी अस्पतालको निर्माणाधीन भवन बेवारिस जस्तै बनेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल आएर हतार हतारमा शिलान्यास गरेको यो अस्पतालको निर्माण कार्य कछुवा गतिमा त छँदैछ नै, निर्माण कार्य निकै कमसल देखिएको छ ।
मनहरी गाउँपालिका र बुद्धशिवाको पुष्पान्जली जेभी कम्पनीबीच सम्झौता भई अस्पताल भवन निर्माण कार्य अघि बढेको हो । तर, जग खनेर ठूला ठूला पिल्लर हाल्ने र गाह्रो लगाउने कार्यमा कमसल सामग्रीको प्रयोग भइरहेको छ । साँडे २ तले अस्पताल भवन निर्माणका क्रममा कमसल इटाको खुलेआम प्रयोग भइरहेको छ भने काममा ढिलाई हुँदा सबै रडहरु खियाले कालो देखिएका छन् ।
जग र पर्खाल लगाउनका लागि बनाइएको सिमेन्ट मसलाको मात्रा समेत नमिलेको स्थानीयबासिन्दाहरु बताउँछन् । ‘२ र ३ नम्बरका इटा प्रयोग भएको छ, सिमेन्ट मसालाको मात्रा समेत नमिलाएर सिमेन्ट कम र बालुवा बढी हालेको पाइएको छ ।’, निर्माणाधीन मनहरी अस्पताल छेवैमा घर भएका एक प्रत्यक्षदर्शीले भन्नुभयो ।
उहाँका अनुसार मिक्स्चर प्रयोग गरेर बालुवा र सिमेन्ट घोल्नुपर्नेमा मान्छेले नै घरायसी रुपमा सिमेन्ट बालुवा मिसाएर मसला बनाउने गरिएको छ । १० करोड १५ लाख रुपियाँमा निर्माण सम्झौता भएको अस्पताल भवन विभिन्न प्रशासनिक र प्राविधिक समस्याका कारण ढिलो गरी निर्माण सुरु भएको हो । तर, निर्माण सुरु भएपनि कमसल सामग्रीको प्रयोग गर्ने र ढिलो काम गर्ने ठेकेदारको तरिकाले मनहरी अस्पताल भवनको भविष्य अन्यौलमा परेको छ ।
दैनिक ३ सय बिरामीको उपचार जाँच गर्ने अस्पताल भवन निर्माण भइरहँदा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहित जनप्रतिनिधिहरुले चासो नदेखाएको पाइएको छ । ठेकेदारले सही ढंगले काम गरेको छ कि छैन भनेर अनुगमन भएको पाइँदैन भने स्थानीय अस्पताल विकास समितिको तर्फबाट पनि भवन निर्माणमा खासै ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् ।
निर्माण सामग्रीको जाँच गर्ने, कमसल सामग्री प्रयोग भएमा सुझाव दिने वा कारबाही गर्ने लगायतका काम गाउँपालिकाबाट नभएपछि ठेकेदार कम्पनीले जबरजस्त रुपमा भवन निर्माण गरिरहेकै अबस्था छ । हालसम्म २ किस्ता गरी ठेकेदार कम्पनीले १ करोड रुपियाँ हाराहारीमा गाउँपालिकाबाट रकम भुक्तानी पाइसकेको छ ।
हामीले पत्र काटिरहेकै छौँः प्राविधिक प्रमुख चौधरी
ठेकेदारले गरिरहेको ढिलासुस्ती र लापारबाहीबारे आफूहरुले ठेकेदार कम्पनीलाई पत्राचार गरिरहेको मनहरी गाउँपालिका प्राविधिक प्रमुख टुकराज चौधरीले बताउनु भएको छ । मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उहाँले अहिले देखिएको कमसल इटाको प्रयोगबाट बनेको पर्खाल भत्काइने र स्टक रहेको इटा फिर्ता लगिने बताउनुभयो ।
‘हामीले ठेकेदारलाई कमसल इटा फिर्ता लैजानु भनेका छौँ’, चौधरीले भन्नुभयो–‘कमसल इटा प्रयोग गरेर अब पर्खाल लगाउने कार्य रोकिनेछ ।’ उहाँले अस्पतालको डिपिआर पास हुन जग्गा अपुग भएको र जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति भई प्रशासनिक काम बाँकी रहेको बताउनुभयो ।
अपुग जग्गा प्राप्त हुनासाथ अस्पताल भवनको डिपिआर पास हुने उहाँले बताउनुभयो । तत्कालीन स्थानीय सरकारले डिपिआर पारित नै नगरी संघीय सरकारको अनुमति नै नलिई अस्पताल भवन शिलान्यास गरेको थियो । भब्य शिलान्यास गरिएको अस्पतालको निर्माण अबस्थाबारे कसैले चासो नलिँदा बेवारिस झैँ बन्दै गएको छ ।
यस्तो निर्माण अबस्था र निर्माण सामग्रीहरु ।
कमसल इटा । यही इटा प्रयोग गरी पर्खाल (गाह्रो) लगाइएको छ ।
यसरी मजदुरले मसला तयार गरी गाह्रोमा इटा जडान गरिँदैछ, मिक्स्चरको प्रयोग भएको छैन ।
सिमेन्ट मसला बनाउन प्रयोग भएको मिक्स बालुवा ।
कमसल इटा र सिमेन्ट मसला प्रयोग गरी लगाइएको पर्खाला (गाह्रो) ।
देखावटी रुपमा मिक्स्चर राखिएको छ, तर हातैले सिमेन्ट मसाला तयार गरिन्छ ।
पिल्लरमा खिया लागेका रड ।
निर्माणाधीन अस्पताल भवनको जग ।