राक्सिराङ–पुस १ गते । राक्सिराङ गाउँपालिकाले पुनः कृषि हाट बजार सञ्चालन गर्ने भएको छ । यहि पुष १५ गतेदेखी गाउँपालिकाले पुनः हाट बजार सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
हाटबजार सञ्चालनका लागि गाउँपालिकाले आइतबार अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको छ । अन्तरक्रिया कार्यक्रमबाट कोपिला गोले संयोजक र राजेन्द्र प्रजाको सह संयोजकत्वतामा १५ सदस्यीय समिति समेत निर्माण गरेको छ ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्न, उत्पादित कृषि सामग्रीको उचित मुल्य प्राप्तीका लागि हाट बजार सञ्चालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । गत वर्षदेखी गाउँपालिकाले हाट बजार सञ्चालन गरेको हो ।
यस वर्ष मनहरी खोलाको बाटो स्तरीकरण हुन नसक्दा कृषि हाटबजार ढिलो सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । साथै यस वर्षबाट गाउँपालिकाले हाटबजारमा कृषि उत्पदानलाई बजारीकण मात्र नभई साँस्कृतिक कार्यक्रम पनि राखिने अध्यक्ष मल्लले बताउनुभएको छ ।
प्रत्येक चोटी कुनै न कुनै समुदायको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष मल्लले बताउनुभयो । राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायको प्रमुख खानाकोरुपमा परिचित गिठ्ठा लगायतका खानेकुराहरु पनि हाटबजारमा प्रस्तुत गरिने बताइएको छ ।