मनहरी–पुस २ गते । मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहभित्रका उपभोक्ता महिला सदस्यका लागि सीपमुलक तालिम दिइएको छ । सोमबारबाट वन समूहले ३० जना महिलाका लागि ५ महिने लामो अबधिको सिलाई कटाई तालिमको सुरुवात गरेको हो ।
तालिमको उद्घाटन गर्दै ६ नं वडाध्यक्ष युवराज थपलियाले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तालिम महत्वपूर्ण हुने आशा ब्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार सामुदायिक वनबीच समन्वय गरी आफ्ना वडाका महिलाहरुको नेतृत्व विकास, शसक्तिकरण र उद्यमशीलता बृद्धिका लागि भूमिका निर्बाह गरिने बताउनुभयो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय मनहरीका सहायक वन अधिकृत रुपककुमार ब्लोनले सामुदायिक वनको स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिलाहरुको सीप विकासमा वन समूहले भूमिका खेलेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।
समूहकी अध्यक्ष पार्वती थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीले महिलाको आत्मनिर्भरता र उद्यमशीलताका बारेमा प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो भने समूहका सचिव रमेश कार्कीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
समूहले अघिल्लो बर्ष दलित समुदायको लागि आरन सुधार अन्तर्गत विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको र बिपन्न बर्गको आर्थिक उन्नतिमा सहयोग पु¥याउँदै आएको सचिव कार्कीले जानकारी दिनुभयो ।