Sunday, September 15, 2024

मनहरीमा ६ नं वडाबाट जग्गा नापी सुरु हुने

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर २० गते । मनहरी गाउँपालिकामा वडा नं ६ बाट जग्गा नापी प्रक्रिया सुरु हुने भएको छ ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब तत्कालै प्राविधिकहरुको व्यवस्थापन गरी जग्गा नापीको प्रक्रियालाई अघि बढाउन लागेको बताउनुभयो ।

६ नं वडा कार्यालयले आयोजना गरेको वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरणका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कालाखेतीले राष्ट्रिय भूमि आयोगसँगको समन्वय र सहकार्यमा जग्गा नापी प्रक्रिया अघि बढ्न लागेको बताउनुभयो ।

‘हामीले जग्गाका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई भेट्यौँ, सम्बन्धित सबै निकायहरुमा पनि ध्यानाकर्षण गरायौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘वन ऐन संशोधन गरेर भएपनि भूमिहीन, सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउने प्रधानमन्त्रीले हामीलाई आश्वासन दिनु भएको छ ।’

अध्यक्ष कालाखेतीले अहिले मध्यवर्ती क्षेत्रको समेत जग्गा नापी गरेर आवश्यक प्रक्रिया पूरा गरिराख्ने तयारी गाउँपालिकाले गरेको बताउनुभयो ।

‘म चितवन र पर्सा राष्ट्रिय निकुन्जका प्रतिनिधि र प्रमुख ज्यूहरुलाई अनुरोध गर्न चाहन्छु कि, जग्गा नापीका सन्दर्भमा कुनै पनि बहानामा अबरोध नहोस् ।’ जग्गा नापी गर्नेबारे आफूले वन विभागका महानिर्देशकसँग पनि कुराकानी गरेर आपसी समझदारीमा काम गर्ने वातावरण तयार पारेको उहाँको भनाई थियो ।

एक अर्काे प्रसंगमा उहाँले मध्यवर्ती क्षेत्र हटाउनेबारे ब्यापक जनमत सिर्जना हुनुमा निकुन्ज प्रशासन दोषी रहेको बताउनुभयो ।

विकास निर्माणमा अबरोध, प्राकृतिक स्रोत उपभोगमा अबरोध, वन्यजन्तुको आक्रमण लगायतका कारण मध्यवर्तीप्रति मानिसहरुको बितृष्णा बढेको उहाँको भनाई थियो ।

उहाँले स्थानीय सरकार र निकुन्ज तथा मध्यवर्ती क्षेत्रबीच आपसी समझदारी र समन्वयमा काम हुनुपर्ने र आफूहरु सो कार्यका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वन्यजन्तु र मानवबीचको द्वन्द्वले क्षति पुगेको बताउँदै मानिसहरु सचेत नहुने र लापारबाही गर्ने प्रबृत्ति बढेको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत सन्तबहादुर मगरले बताउनुभयो ।

लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले मध्यवर्ती र निकुन्जको बिकल्प नरहेको भन्दै यसबाट पुग्ने क्षति वा असरलाई न्यूनिकरण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, नेपाली काँग्रेसका सभापति प्रकाश बर्ताैला, पत्रकार तथा निकुन्ज क्षेत्रमा बसोबास रहेका ६ नं वडाका बासिन्दाहरुले आफ्ना धारणाहरु राखेका थिए ।

खासगरी पछिल्लो समयमा बाघले २ जना मान्छे मारेपछि गाउँमा त्रास फैलिएकाले सरोकारवालालाई एकै स्थानमा भेटाएर आपसी समन्वको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको ६ नं वडाध्यक्ष युवराज थपलियाले बताउनुभयो ।

लोकप्रिय

Related Articles