Sunday, February 9, 2025

देवकोटमा ६० लाख सकिँदा पनि खानेपानी योजना बेवारिस

ताजा / भरखरै प्राप्त

मनहरी–मंसीर २८ गते । विकास निर्माणमा चरम लापारबाही र स्थानीयबासिन्दाले बेवास्ता गर्दा कस्तो परिणाम निस्कन्छ भन्ने गतिलो उदाहरण बनेको छ मनहरी ८ देवकोटस्थित खानेपानी योजना ।

स्थानीय सरकारको पहिलो कार्यकालबाट सुरु भएको यो योजनामा अहिलेसम्म मनहरी गाउँपालिकाले ६० लाख रुपियाँ खर्च गरिसक्यो, तर मुहानबाट ट्यांकीसम्म समेत पानी खसेको छैन ।

मनहरी गाउँपालिका ८ नं वडाध्यक्ष नारायण उप्रेतीका अनुसार देवकोट बस्तीको चुलीमा रहेको ट्याङ्की र स्थानीय खोल्सामा बनाइएको मुहानको दुरी झण्डै १ किलोमिटर छ ।

१ किलोमिटर तलबाट उकालोतर्फ मोटरले पानी फाल्नुपर्छ । अनि मात्रै ट्याङ्कीमा पानी जम्मा हुन्छ र त्यही पानी ९० घर परिवारलाई बितरण गर्नुपर्छ ।

पहिलो लटमा ३५ लाख रुपियाँ र दोस्रो लटमा थप २५ लाख रुपियाँ लगानी हुँदा पनि ट्याङ्कीमा पानी खसेन । स्थानीय उपभोक्ता समितिमार्फत दुईपटक गरी योजना कार्यान्वयन हुँदा समेत ट्याङकीमा पानी नपुगेपछि उक्त आयोजना बेवारिसजस्तै भएको छ ।

दुईपटक गरी ६० लाख खर्च हुँदा समेत योजना सम्पन्न नभएपछि वडा कार्यालयका तर्फबाट योजना सम्पन्न गर्न पहल गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।

उहाँले काठमाडौँबाट मेलम्ची खानेपानी योजनाको समेत काम हेरिरहेका प्राविधिकसँग समन्वय गरी खानेपानी विभाग पुगेर मोटर तथा पाइपहरु ल्याएर योजनालाई पुन जीवन दिन लागिएको बताउनुभयो ।

‘योजना बेवारिस रहेछ, खानेपानी समस्या पनि उस्तै छ’, उहाँले भन्नुभयो–‘खानेपानी विभागबाट १० लाख बढीको सामानहरु मगाएर योजना सम्पन्न गर्न लागिपरेका छौँ ।’ कमजोर विद्युतका कारण पनि मोटर राम्ररी चल्न नसकेकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मोटर चल्ने मुहान नजिकै ट्रान्सफर्मर सारेर भएपनि मोटर चल्ने बनाउन लागिएको उहाँले बताउनुभयो ।

यस बर्ष वडा कार्यालयले खानेपानीका लागि ५ लाख रुपियाँ बिनियोजन गरेको रकम पनि सोही योजनामा थप गरेर भएपनि योजना सफल बनाउन खोजिएको उहाँको भनाई छ ।

‘अरु योजना रकमान्तर गरेर भएपनि खानेपानीलाई प्राथमिकता दिएका छौँ’, उहाँले भन्नुभयो ।

लोकप्रिय

Related Articles