मनहरी–मंसीर १७ गते । मनहरी गाउँपालिको आफ्नो क्षेत्रभित्र रहेका १३४ जना आंशिक अपांगता (पहेँलो कार्ड, ग बर्ग) भएका ब्यक्तिलाई परिचयपत्र र निर्बाह भत्ता रकम उपलब्ध गराएको छ ।
३२ औ अन्तर्राष्ट्रिय अपांगता दिवसको अबसरमा मनहरी गाउँपालिकाको लामिटारस्थित सभाहलमा आयोजित कार्यँक्रममा १३४ जना ग बर्गका अपांगता भएका ब्यक्तिलाई रकम प्रदान गरिएको हो ।
प्रतिब्यक्ति ५ हजार ४ सय रुपियाँ र ग बर्गको अपांगता परिचयपत्रसहित उनीहरुलाई गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीसहितको उपस्थितमा रकम र परिचय पत्र बितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कालाखेतीले अपांगता भएका ब्यक्तिको सहज जीवन यापनका लागि गाउँपालिकाले आगामी दिनमा अझै बजेट बृद्धि गरी भत्ता उपलब्ध गराउने बताउनुभयो ।
मनहरी गाउँपालिका सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, महिला तथा बालबालिका विकास शाखा प्रमुख शिला अधिकारी, एम आई एस अपरेटर दीपक अधिकारी, अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बो लगायतको सहभागिता थियो ।
आंशिक अपांगता भएका ब्यक्तिले पनि परिचय पत्र भत्ता पाएकामा अपाङ्गता क्षेत्रमा क्रियाशील संघसंस्था र ब्यक्तिहरुमा खुसी छाएका केन्द्रका अध्यक्ष स्याङ्बोले बताउनुभयो ।
यसअघि नेपाल सरकारको तर्फबाट क बर्गमा बर्गीकृत अपांगता भएका व्यक्तिलाई मासिक ४ हजार रुपियाँ, ख बर्गमा बर्गीकृत अपांगता भएका ब्यक्तिलाई मासिक २ हजार १ सय २८ रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको छ ।