मनहरी–भदौ ३१ गते । गएको असार १४ गते मोटरसाइकल छाडेर भागेका मनहरी गाउँपालिका ७ रमन्टार निवासी सुवास तामाङलाई प्रहरीले पक्रेर इलाका प्रहरी कार्यालय मनहरी ल्याएको छ ।
असार १४ गते राक्सिराङ गाउँपालिका ५ मा चैनपुर प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा बा ५३ प ४५३९ नम्बरको मोटरसाइकल छाडेर सुवास बेपत्ता भएका थिए ।
मोटरसाइकल चालक प्रहरीलाई झुक्याएर भागेपछि चेकजाँच गर्दा मोटरसाइकलबाट ३ केजी ४६० ग्राम अफिम फेला परेको थियो । सोही मोटरसाइकल पछाडि बसेका प्रल्हाद दर्जीलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दर्जी भवानी माध्यमिक विद्यालयका शिक्षक हुन् ।
मोटरसाइकल छाडेर भागेका सुवास लुकिछिपी पोखरा बसिरहेको सुराकी पाएको आधारमा इलाक प्रहरी कार्यालय मनहरीको टोली पोखरा पुगेर पक्राउ गरी ल्याएको स्रोतले बताएको छ ।
सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ । यद्यपि घटनाबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन ।
विद्यालयबाट तलब पेश्की बुझेर मोटरसाइकलमा लिफ्ट मागी मनहरी ७ स्थित घरतर्फ आइरहेका शिक्षक दर्जीको साथबाट ५० हजार रुपियाँ नगद समेत बरामद भएकाले उनको संलग्नताका सम्बन्धमा प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । मोटरसाइकल चालकलाई नै प्रहरीले पक्रेपछि अब सत्य कुरा सार्बजनिक हुने र लिफ्ट मागेर घरतर्फ आइरहेका शिक्षकले न्याय पाउने अपेक्षा गरिएको छ ।
यद्यपि, सुवासको गिरफ्तारीसँगै उसले दिने बयानलाई आधार मानेर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको मुद्दामा सरकारी वकिल र जिल्ला अदालतको आदेश र सहजीकरण के कस्तो रहनेछ हेर्न बाँकी छ ।
निर्दाेष शिक्षकलाई फसाउन खोजिएको भन्दै कैलाश गाउँपालिका जनप्रतिनिधिहरु, दलित समुदाय र उनका शुभचिन्तकहरु आन्दोलित भएका थिए ।
दर्जी भ¥याङकाली पन्चेबाजा समूहका सदस्यका रुपमा समेत सक्रिय रही राम्रो बाद्यवादक र सुत्रधारका रुपमा भूमिका खेल्ने ब्यक्ति हुन् ।