Tuesday, January 14, 2025

ब्यापक आलोचनापछि मनहरी गाउँपालिकामा पत्रकार सम्मेलनः असुरक्षा भएपछि प्रहरी परिचालन

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ ३० गते । मनहरी गाउँपालिकाले क्रसर व्यवसायीका लागि १६ करोड रकम मिनाहा गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

पत्रकार सम्मेलन गर्दै गाउँपालिकाले आफ्नो तर्फबाट कुनै किसिमको बजेट र राजश्व दुरुपयोग लगायतका कार्यहरु नभएको दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा सहभागी गाउँपालिकाको कार्यपालिका टिम ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पत्रकार सम्मेलनमा बितरण गर्नु भएको प्रेस विज्ञप्तीमा स्थानीय सरकार राजश्व मिनाहा गर्ने निकाय नभएको र नदीजन्य बस्तु सम्बन्धी सबैखाले निर्णयहरु, अनुगमन लगायतका कामहरु जिल्ला समन्वय समितिले गर्ने भएकाले मनहरी गाउँपालिकाको कुनै भूमिका नरहेको स्पष्ट पारिएको छ ।

‘हामी न कोही क्रसर व्यवसायीको पक्षमा छौँ, न त कसैलाई व्यक्तिगत आग्रह र पूर्वाग्रह राखेर व्यवहार गरेका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘व्यक्तिगत चरित्र हत्या हुने, मानमर्दन हुने गरी मिडियाहरु र सामाजिक सञ्जालहरुमा आइरहेका सबैखाले सूचना र समाचारहरुमा सत्यता छैन ।’

पत्रकार सम्मेलनमा पत्रकारहरुसँग गाउँपालिका अध्यक्ष कालाखेती, ८ नं वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सी शाखा प्रमुख डिल्लीराम रेग्मी लगायतले सबाल जबाफ गर्नु भएको थियो ।

पत्रकार सम्मेलनमा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नं वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नं वडाध्यक्ष प्रकाश थापा, ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ लगायत कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

यसैबीच पत्रकार सम्मेलनमा गैरपत्रकारहरुको सहभागिता भएको भन्दै पत्रकारहरुले कार्यक्रममा बस्न मानेका थिएनन् । मनहरी गाउँपालिका ३ स्थित लामिटार भवनमा आयोजित पत्रकार सम्मेलनमा १ सयको हाराहारीमा युवाहरु पनि सहभागी भएको अनुमान छ ।

ती युवाहरुले पत्रकारसँगको सबाल जबाफ सुन्ने चाहना रहेको भन्दै हलमा बस्न माग गरेका थिए ।

गिटी बालुवा व्यवसायसँग कुनै न कुनै रुपमा जोडिएका युवाहरु पत्रकार सम्मेलनमा देखिएपछि पत्रकारहरुले असुरक्षाका कारण कार्यक्रममा बस्न इन्कार गरेका थिए ।

पत्रकारहरु कम्पाउण्डभित्र छिरिसकेपछि गेट बन्द गरेर अघोषित बन्दी जस्ता बनाइएको भन्दै पत्रकारहरुले गाउँपालिकाको आलोचना गरेका थिए ।

पत्रकारहरुले कार्यक्रममा बस्न नमानेपछि पछि स्थानीय युवाहरुलाई अध्यक्ष कालाखेतीले छुट्टै ब्रिफिङ गरी हलबाहिर निकालेपछि मात्रै पत्रकार सम्मेलन भएको थियो ।

पत्रकार सम्मेलनमा असुरक्षा महसुस भएपछि जनपद प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक (सई) र शसस्त्र प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई)को नेतृत्वको प्रहरी टोली परिचालन गरिएको थियो ।

मनहरी गाउँपालिकाले पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको गाउँपालिका अध्यक्ष कालाखेतीको दाबी थियो भने अध्यक्षले आफ्नो बाहुबल देखाउनका लागि त्यस्तो प्रपन्च रचिएको कतिपयले आरोप लगाएका छन् ।

लोकप्रिय

Related Articles