मनहरी–भदौ २९ गते । नियमित स्वास्थ्य जाँच र परामर्शका लागि भोलि अर्थात भदौ ३० गतेदेखि अर्काे जानकारी नभएसम्म मनहरी अस्पताल नआउनुहोला ।
किनकी मनहरी अस्पतालमा आकस्मिक कक्ष, बर्थिङ सेन्टर र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको छ ।
हेटौँडास्थित सन्चो अस्पतालमका डाक्टर प्रशान्त भण्डारी र डाक्टर विकास थापालाई उपचार गरिरहेकै कार्यकक्षमा कुटपिट गरेको बिरोधमा मनहरी अस्पतालले पनि आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरेको हो ।
शुक्रबारदेखि सेवा बन्द गरिएको र दोषीमाथि कारबाहीको माग गर्दै सेवा ठप्प पारिएको मनहरी अस्पतालका डाक्टर बिजय साहले बताउनुभयो ।
‘हामी अस्पताल आउँछौँ, आकस्मिक सेवा गर्छाै तर ओपिडीका कुनै पनि बिरामीहरु हेर्ने छैनौँ’, डाक्टर साहले मनहरी लाइभ डटकमसँग भन्नुभयो ।
स्वास्थ्यकर्मीहरु कार्यालयमा उपस्थित भएपनि आकस्मिक, बर्थिङ र फार्मेसीबाट प्रबाह हुने सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने बताइएको छ ।
आन्दोलनका कारण नियमित बिरामी जाँच, परामर्श, रिफर, ल्याब टेस्ट, एक्सरे लगायत सबै सेवा प्रभावित हुने भएको छ । मनहरी अस्पतालले यसअघि बिहान ८ बजेदेखि नियमित रुपमा बिरामी जाँच गर्दै आइरहेको थियो ।
सन्चो अस्पतालमा भएको घटनामा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै मनहरी अस्पतालसँगै देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
घटनामा किटानी जाहेर दिइएको र केही मानिसलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।