Sunday, February 9, 2025

स्वास्थ्य इकाइमा बिरामी जाँच्ने बेड छैन, वडाध्यक्ष प्रकाश थापा भन्छन्–‘तत्कालै व्यवस्था हुन्छ’

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २५ गते । मनहरी गाउँपालिका वडा नं ४ मा रहेको स्वास्थ्य इकाइमा बिरामी जाँचका लागि व्यवस्थित बेड समेत नभएको भन्दै स्थानीयबासिन्दाले सरकारको आलोचना गरेका छन् ।

सार्बजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार महिलाहरुबीच आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले यस्तो गुनासो गर्नु भएको हो ।

पशुपति मन्दिर परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा पातली चेपाङले ४ नं वडाका वडाध्यक्ष प्रकाश थापालाई गुनासो गर्नुभयो–‘बिरामी गएर बस्ने बेड पनि छैन, गर्भजाँच पनि सबैको अगाडि भुँडी देखाएर गर्नुपर्ने अबस्था छ ।’

जबाफमा वडाध्यक्ष थापाले तत्कालै व्यवस्थित बेडको व्यवस्थापन हुने बताउनुभयो । ‘मैले पालिका र स्वास्थ्य शाखालाई यो समस्याबारे ध्यानाकर्षण गराउनेछु र तत्कालै यसको व्यवस्थापन गर्नेछु’, वडाध्यक्ष थापाले भन्नुभयो ।

कार्यक्रममा १५ जनाभन्दा बढीले ४ नं वडाको स्वास्थ्य क्षेत्र, विकास निर्माण, पशुपति मावि र चेपाङ प्राथमिक विद्यालयको शैक्षिक समस्याका बारेमा कुरा उठाएका थिए ।

स्थानीय भगतवती चेपाङले चेपाङ प्राथमिक विद्यालयका हेड सर के कति कारणले सरुवा गरिएको हो भन्ने प्रश्न गर्दै उहाँले गरिव, बिपन्न समुदायका बालबालिकाका लागि पोशाक, कापीकलम, चप्पलको व्यवस्था गरिदिएर सहयोग गरिरहेकामा अकस्मात सरुवा हुँदा अनौठो लागेको बताउनुभयो ।

कार्यक्रममा पशुपति माध्यमिक विद्यालयमा छात्रबृत्ति नपाएको, १७ घर क्षेत्रका खाली घरहरुमा लागूऔषध गाँजा सेवनको अखडा बनेको, बाटाहरु हिलाम्य भएर हिँड्नै नसक्ने अबस्था आएको, पशुपतिनाथ माविका विद्यार्थीहरुले कम्प्युटर ल्याब र पुस्तकालय चलाउन नपाएको, बाघले खसी तानेको, वडा कार्यालयमा फोटोकपी सेवाका लागि सोर्सफोर्स लगाउनुपरेको, पाडी बितरणबारे जनप्रतिनिधिलाई नै सोध्दा पनि जानकारी नदिइएको, सिन क्योकुसिन कराँतेका लागि बजेट नभएको लगायतका बिषयहरु उठान भएको थियो ।

कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतम, वडाध्यक्ष प्रकाश थापा लगायतले उठेका बिषयहरुबारे जबाफ दिनु भएको थियो ।

डब्लुपीडीकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, महिला समूहका सदस्यहरु सहभागी हुनु भएको थियो भने इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले स्वागतसहित कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नु भएको थियो ।

लोकप्रिय

Related Articles