मनहरी–भदौ २५ गते । हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानी सहरी स्वास्थ्य केन्द्रको भौतिक अबस्था र सेवा सुधारका लागि सरोकारवालाहरुले सुझाव दिएका छन् ।
सार्बजनिक सरोकार र महिलामाथि हिंसाका बारेमा स्थानीय सरकार महिलाहरुका बीच आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
हेटौँडा उपमहनगरपालिका वडा नं १९ स्थित वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा सहभागीहरुले नेवारपानी सहरी स्वास्थ्य केन्द्रमा पर्खाल नभएकाले असुरक्षा भएको, तालिम हल व्यवस्थित नरहेको, बर्षायाममा लेउ लागेर उपचार गर्न जाने बिरामी नै लडेर घाइते हुने अबस्था आएको भन्दै आलोचना गर्नु भएको हो ।
उहाँहरुले कतिपय औषधीहरु म्याद सकिएको अबस्थामा रहेको भन्दै हिलोले खुट्टा खाएका बेला औषधी लिन जाँदा समेत नपाएको गुनासो गर्नु भयो ।
जबाफमा स्वास्थ्य केन्द्रकी प्रमुख सुसन शर्माले पर्खाल नहुँदा आफू समेत असुरक्षित रहेको बताउनुभयो ।
उहाँले पटक पटक कम्पाउण्डिङका लागि वडामा माग गरिएको स्मरण गराउनुभयो । खानेपानी समस्या रहेको, स्वास्थ्य केन्द्र परिसरमा बर्षामा पानी पलाउने समस्या भएकाले लेउ लागेर हटाउनै नसक्ने अबस्था रहेको बताउनुभयो ।
कार्यक्रममा निर्मल माध्यमिक विद्यालयका विद्यार्थीहरुले खेलकुद र अतिरिक्त क्रियाकलापको वातावरण नभएको गुनासो गरेका थिए । नेवारपानीस्थित अरनिको माध्यमिक विद्यालयमा शिक्षकहरु अनुपस्थित हुने गरेको भन्दै विद्यार्थीहरु दिउँसै घर फर्केने गरेको पाइएको टिप्पणी सहभागीहरुले गर्नु भएको थियो ।
त्यस्तै विभिन्न तालिम तथा कार्यक्रमहरु दुर्गम गाउँहरुमा लैजानुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
कतिपय सहभागीहरुले रासायिनिक मल आफूहरुले टोकन लिएर बस्दा पनि नपाएको तर वडाध्यक्षले फोनकै भरमा आफ्ना निकटका मान्छेहरुलाई पु¥याइदिएको समेत आरोप लगाउनुभयो ।
कार्यक्रममा वडा सदस्य रिता सुनारले सुनिएका सबै गुनासोहरुका बारेमा वडाध्यक्षलाई जानकारी गराउने र सुधारको प्रयत्न गरिने बताउनुभयो ।
डब्लुपीडी नेपालकी फिल्ड सुपरभाइृजर तिलकुमारी हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, मेलमिलाप केन्द्रका संयोजक कृष्णप्रसाद पौडेल, टोल विकास संस्था वडास्तरीय समन्वय समितिका अध्यक्ष देवेन्द्र अर्याल, निर्मल माध्यमिक विद्यालयकी शिक्षिक सुजाता तिमल्सिना, नेवारपानी सहरी स्वास्थ्य केन्द्रकी प्रमुख सुसन शर्मा लगायतले धारणा राख्नु भएको थियो भने इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले स्वागत गर्नु भएको थियो ।