Saturday, September 14, 2024

मनहरी १ नं वडाध्यक्षसामु महिलाका गुनासै गुनासा

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ २२ गते । मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनालप्रति महिलाहरुले गुनासो गरेका छन् ।

सार्बजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार महिलाबीच आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महिलाहरुले कृषि अनुदानदेखि शिक्षा क्षेत्रको विकासका कुराहरुका बारेमा गुनासो ब्यक्त गरेका हुन् ।

डब्लुपीडी नेपाल र इन्सेकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्षसामु महिलाहरुले गुट्खा निषेध गरेको भनिए पनि विद्यार्थीहरुले खुलेआमा चुरोट र गुट्खा किनेर सेवन गरिरहेको बताएका हुन् ।

कार्यक्रममा एक महिलाले भन्नुभयो–‘गाउँपालिकाले गुट्खा बन्द गरेको छ भन्ने माइकिङ पनि भयो, तर हाम्रो गाउँमा स्कूलको ड्रेसमै गुट्खा र चुरोट खाने विद्यार्थीहरु मैले देखिरहेको छु ।’

त्यस्तै अर्की एक महिलाले रातदिन रक्सी खाएर गाउँभरिका मान्छेहरुलाई अश्लील शब्द प्रयोग गर्ने, नाङ्गै बस्ने, खुला रुपमा बाटामा दिसा गर्ने पुरुषहरु देखेर वाक्क भएको बताउनुभयो ।

‘मैल वडाध्यक्षलाई भनेर तिमीलाई म कारबाही गराउँछु भनेर पनि धम्क्याएँ’, ती महिलाले भन्नुभयो–‘तेरो वडाध्यक्षले के गर्न सक्छ ? लिएर आइजो भन्दै धम्क्याउँछन् ।’

कार्यक्रममा स्थानीय बाल जीवन माध्यमिक विद्यालयको पढाई स्तर सुधार्नुपर्ने, कक्षा ११ को पढाई बिहान हुनुपर्ने, छात्रबृत्ति बितरण प्रक्रिया पारदर्शी हुनुपर्ने लगायतका बिषयहरुमा वडाध्यक्षको ध्यानाकर्षण गराइएको थियो ।

त्यसैगरी हालसालै बितरित पाडी एकल महिलाले नपाएको भन्दै दुखेसो समेत ब्यक्त भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष खनालले सबै समस्याहरुका समाधानका लागि आफू पुनः निर्वाचित भएर आएको बताउनुभयो । ‘जे जति सबालहरु उठाउनु भएको छ, त्यो सबै कुरामा मैले ध्यान दिनेछु’, वडाध्यक्ष खनालले भन्नुभयो–‘यसपटक पाडी पाएन भनेर नरिसाउनुस्, अर्काे पटक पालो आउँछ ।’

कार्यक्रममा वडा सचिव सुरेन्द्र न्यौपाने, कार्यपालिका सदस्य सेतीमाया तामाङले पनि जबाफ तथा वडाले प्रबाह गर्ने कामहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

डब्लुपीडीकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक कृष्ण नेपालले स्वागत तथा कार्यक्रमको औचित्य प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी शिवकुमार काशीले गर्नु भएको थियो ।

लोकप्रिय

Related Articles