मनहरी–भदौ १८ गते । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आधुनिक गीत संगीतका कारण तीजको गरिमा घटेको बताउनु भएको छ ।
मनहरी गाउँपालिकाले आयोजना गरेको तीज बिशेष कार्यक्रम तथा सांगीतिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘पोइला जान पाम जस्ता गीतसंगीतहरु आए’, मन्त्री मोक्तानले भन्नुभयो–‘हामीले तीजलाई महिला अधिकार स्थापनाका खातिर उपयोग गर्नेगरेका थियौँ, महिला अधिकार स्थापित गर्नका लागि महिलाका पीडा, दुःखका गीतहरु बनाएको थियौँ, सुनेका थियौँ ।’
तर अचेल अनेक अनेक गीतहरु आएर तीजलाई भड्किलो बनाए पनि समाज र जीवन गीतले भनेजस्तो नरहेकाले अझै अधिकार स्थापित गर्नका लागि लागिपर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले तीजको शुभकामना दिँदै बर्षमा एकपटक भएपनि महिला दिदीबहिनीहरुसँग भेटघाट गर्ने अबसर जुरेको भन्दै धन्यवाद दिनु भएको थियो ।
उपाध्यक्ष सीता पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, महिला जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरु सहभागी हुनुहुन्थ्यो ।