Tuesday, January 14, 2025

राक्सिराङको बार्षिक समिक्षाः दलका नेताहरु अनुपस्थित

ताजा / भरखरै प्राप्त

राक्सिराङ–भदौ १८ गते । राक्सिराङ गाउँपालिकाले गत आर्थिक बर्षको प्रगतिबारे समिक्षा गरेको छ । तर, समिक्षा कार्यक्रममा राजनीतिक दलका नेताहरु भने अनुपस्थित भएका छन् ।

आर्थिक बर्ष २०७९/०८० मा भएको भौतिक, आर्थिक प्रगतिका बारेमा समिक्षा गरिएको हो । कार्यक्रममा गत आर्थिक बर्षमा ६८ करोड ३२ लाख ५५ हजार रुपियाँको बजेट सार्बजनिक गरिएकामा ५० करोड, ३९ लाख ८७ हजार ६८७ रुपियाँ आर्थिक प्रगति देखिएको पालिकाले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ७४ दशमलब ५८ प्रतिशत आर्थिक प्रगति हासिल गरेको राक्सिराङले गत आर्थिक बर्ष अर्थात २०७९÷०८० मा भने ७३ दशमलब ९ प्रतिशत आर्थिक प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

‘राजश्व बृद्धि गर्ने कुरामा हामीहरुको प्रगति छ’, उहाँले भन्नुभयो–‘कतिपय स–साना कुराहरुले असर पार्दा हामीहरुले आर्थिक प्रगतिलाई अझै चित्त बुझ्दो ढंगले बढाउन नसकिरहेको यथार्थ छ ।’

कार्यक्रमा कृषि, पशु, शिक्षा, स्वास्थ्य, भौतिक, प्रधानमन्त्री रोजगार कार्यक्रम, उद्यम विकास कार्यक्रम, सामाजिक सुरक्षा, न्यायिक समिति, पोषण लगायतका शाखागत प्रगति पनि प्रस्तुत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बनस्तम थिङले कर्मचारी र कार्यपालिका एक ढिक्का भएर काममा लाग्दा मात्रै लक्ष्य हासिल हुने भएकाले सरुवा भएर नजान र उत्साहित भएर काम गर्न आग्रह गर्नुभयो ।

‘हामी तपाईहरुलाई कानूनसम्मत ढंगले दिन सकिने सेवा सुविधा थप गर्न तयार छौँ’, उपाध्यक्ष थिङको भनाई थियो–‘तर, राक्सिराङलाई छाडेर जाने, यहाँ नबस्ने कुराहरु मनमा अलिकति पनि नलिइदिनुहोला ।’

कार्यक्रममा सहभागीहरु ।

अध्यक्ष राजकुमार मल्लले राजनीतिक पार्टीहरुबाट पनि बार्षिक समिक्षा कार्यक्रममा सहभागिता जनाएर सुझाव पाउने अपेक्षा राखिएको बताउनुभयो ।

‘उहाँहरु के कति कारणले आउनु भएन, सबैलाई खबर गरिएकै हो’, अध्यक्ष मल्लको भनाई थियो–‘हामी सबै पक्ष, बिपक्ष र सरोकारवालाहरुको सुझाव चाहन्छौँ, सबैलाई समेटेर अघि बढ्न चाहन्छौँ ।’

उहाँले संघीयता कार्यान्वयन हुने क्रममा आफू पैदल हिँडेर नै गाउँपालिका केन्द्र आएको स्मरण गर्नुभयो । आँपखोल्सीको पहिरो सम्झँदै उहाँले अहिले विकास निर्माणको काममा आकास जमिनको अन्तर देखिएको बताउनुभयो ।

‘यो नै पर्याप्त होइन, हामीले राक्सिराङ गाउँपालिका छाडेर कोही पनि मान्छे बसाई नसरुन्, यहीँ नै आनन्दले बसून् भन्ने चाहन्छौँ ।’, मल्लले भन्नुभयो–‘जब गाउँमा मान्छे नै बसेनन् भने कसका लागि विकास गर्नू ?’

बसाई सरी आउनेलाई घर उपहार दिने कार्यक्रमको कार्यविधि निर्माण भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा ९ वटै वडाका अध्यक्षहरुलाई आर्थिक बर्ष २०८०/०८१ को योजना किताव र योजना कार्यान्वयनका लागि गरिएको निर्माण गरिएको कार्यविधिहरु हस्तान्तरण गरिएको थियो ।

अब द्रूतगतिमा राक्सिराङ गाउँपालिकामा योजनाहरु उपभोक्ता समितिहरु निर्मांण गरी कार्यान्वयन प्रक्रिया अघि बढ्ने गाउँपालिकाले जनाएको छ ।

लोकप्रिय

Related Articles