Friday, September 13, 2024

वन मन्त्री खड्काले उद्घाटन गरिन् सुनाचुरी सामुदायिक वनको भवन

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १३ गते । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले बुधवार मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको भवन उद्घाटन गर्नु भएको छ ।

उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री खड्काले वन जोगाउने अभियानमा लाग्नका लागि सबै पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘हाम्रो पुस्ताले मात्रै वन उपभोग गरेर हुँदैन, आउने पुस्तालाई पनि हामीले वन र प्राकृतिक स्रोत हस्तान्तरण गर्नेगरी संरक्षणमा लाग्नुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सामुदायिक वनको आफ्नै भवन निर्माण हुनु खुसीको कुरो भएको बताउँदै वन जोगाउने अभियानमा सबै पक्षको सहकार्य जरुरी रहेको बताउनुभयो ।

नयाँ भवनको माथिल्लो तल्लामा रहेको हलमा आयोजित उद्घाटन समारोहका सहभागीहरु ।

डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले बागमती प्रदेशमा मात्र नभई देशमै राप्ती डिभिजन वन कार्यालयलाई स्रोत केन्द्रको रुपमा विकास गर्दै लगिएको स्पष्ट पार्नुभयो ।

‘चिउरी, दार, छतिवन, निम, सतिसाल, सालक संरक्षण लगायतका काममा हामी देशमै नमूना बन्दै गइरहेका छौँ’, प्रमुख आचार्यको भनाई छ–‘हामीले जनमैत्री र जनमुखी विकास प्रक्रियालाई अंगिकार गरेर कार्यक्रमहरुलाई भूँइमान्छेसम्म पु¥याउने प्रयत्न गरिरहेका छौँ ।’

कार्यक्रममा वडाध्यक्ष युवराज थपलिया, भवन निर्माण अनुगमन समितिका यदुनाथ श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने स्वागत मन्तब्य वन समूहका सचिव रमेश कार्कीले व्यक्त गर्नु भएको थियो ।

कूल ६५ लाख लागत रहेको भवन वन समूहका पदाधिकारी र उपभोक्ताहरुको सक्रियताका कारण ५३ लाखमै निर्माण सम्पन्न भएको सचिव कार्कीले बताउनुभयो ।

कार्यक्रम समूहकी अध्यक्ष पार्वती मुक्तान तामाङको अध्यक्षतामा भएको हो । कार्यक्रममा छिमेकी सामुदायिक वनका पदाधिकारीहरु, पत्रकार, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा निर्माण भएको शवदाह गृह र घाटगद्दीको समेत मन्त्री खड्काले अनुगमन गर्नु भएको थियो । सोही अबसरमा पशुपति सामुदायिक वन उपभोक्ता समूह मनहरी ७ रमन्टारस्थित दिगो वन व्यवस्थापनको ब्लकमा समेत मन्त्री खड्काले अनुगमन र अवलोकन गर्नु भएको थियो ।

दिगो वन व्यवस्थापनबारेमा वन प्राविधिक राकेशप्रसाद चन्द्रबंशी, विशाल भट्टराईसहितको टोलीले मन्त्री खड्कालाई जानकारी गराउनु भएको थियो ।

लोकप्रिय

Related Articles