मनहरी–भदौ १३ गते । अब्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीहरुले मनहरी गाउँपालिकामा गरिरहेको आन्दोलनप्रति मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले ‘गलत ठाउँमा गलत स्कूलिङ’ भइरहेको टिप्पणी गर्नु भएको छ ।
बुधवार बिहान सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह मनहरी ६ को सुनाचुरीस्थित नयाँ भवन उद्घाटन समारोहमा उहाँले अलिअलि गुनासो र अलि अलि आक्रोश समेत पोख्नुभयो ।
उहाँले यसो भन्नुभयो–
मनहरीमा लालपुर्जाका समस्या पहिलेदेखि नै हो । एकराज उप्रेती अध्यक्ष हुँदा पनि विवरणहरु संकलन गर्ने कामहरु भए । म निर्वाचित भएर आइसकेपछि भूमि आयोग अन्तर्गतका सहजीकरण समितिहरु निर्माण भए ।
त्यही समितिको सिफारिसका आधारमा वडा तहबाट प्राप्त भएका सुकुम्बासी र अब्यवस्थित बसोबासीहरुलाई लालपुर्जा दिलाउनका लागि हामी प्रयत्नरत छौँ । हामीले आफैले सही गरेर लालपुर्जा बाँड्ने होइन । हामीले बाँडेको लालपुर्जाको मान्यता पनि हुँदैन । त्यसैले हामीले संघीय सरकारको वन मन्त्रालय र भूमि सुधार मन्त्रालयमा यसबारे पटक पटक ध्यानाकर्षण गराइरहेका छौँ । हामीलाई सुकुम्बासीहरुको बिवरण सार्बजनिक गरी निस्सा बितरणमा पनि पर्सा राष्ट्रिय निकुन्जको तर्फबाट रोक लगाउने काम भयो ।
हामीले अटेर गरी निस्सा बितरण गरेरै छाड्यौँ । अहिले पनि प्रधानमन्त्री भेटेर जनताका यस्ता समस्याबारे उहाँलाई जानकारी गराइरहेका छौँ । हामीले लेख्नुपर्ने, निर्णय गर्नुपर्ने, भेट्नुपर्ने, भन्नुपर्ने सबै काममा काहीँकतै कुनै पनि कसर बाँकी राखेका छैनौँ ।
तर, हामी प्रधानमन्त्री भेट्न काठमाडौँ जाँदै गर्दा रातिको २ बजे गाडी बिग्रेर जंगलमा अलपत्र पर्दै पर्दै जनताको लालपुर्जाकै सबालमा पुगिरहँदा यता गाउँपालिका कार्यालय घेराउ गर्ने, हामीले कुनै पनि काम नगरी नाराबाजी गर्ने लगायतका काम भएछन् । संघर्ष समितिको नाममा जनतालाई उतार्ने र गाउँपालिकाले लालपुर्जाको सबालमा कुनै पनि काम नगरेको भन्ने जसरी ब्याख्या भएको रहेछ ।म त्यो भ्रम हटाउन संघर्ष समितिलाई र आम जनसमुदायलाई आग्रह गर्छु ।
मैले संघर्ष समितिको अध्यक्षको भनाई पनि सुनेँ । उहाँले गाउँपालिका र वडा कार्यालय मात्रै होइन अध्यक्ष, उपाध्यक्षहरुको घरमा समेत ताला लगाउने भन्नु भएको रहेछ । ठीकै छ, हाम्रो घरमा ताला लगाएर, गाउँपालिका कार्यालयमा ताला लगाएर तपाईहरुले लालपुर्जा पाउनुहुन्छ भने म घरबाहिरै बसूँला ।
तर, त्यसले समाधान दिन्छ त ? गाउँपालिकाले लालपुर्जा नदिएको भए पो गाउँपालिका घेराउ गर्नु ? लालपुर्जा दिन नसक्ने सिंहदरबार, बालुवाटार र बिषयगत मन्त्रालयहरु हुन् । लालपुर्जाको बिषयमा माइतीघर मण्डलामा धर्ना बसौँ, सिंहदरबार घेरौँ, प्रधानमन्त्री कार्यालय घेरौँ, मन्त्रालयहरु घेर्न जाऔँ । हामी पनि तपाईहरुसँगै जाउँला, हो मा हो लगाउँला ।
तर तपाईहरुले गाउँपालिका घेरेर केही पनि हुँदैन । हामीलाई थुनेर लालपुर्जा आउने होइन ।
सोझा साझा मान्छेहरुलाई गाउँपालिका र वडा कार्यालयले काम नगरिदिनाले लालपुर्जा नपाएको भन्नेजस्तो बनाएर हामीहरुलाई केन्द्रित गरी आन्दोलन, धर्ना र जुलुस नगरिदिनुहोला । सोझा साझा जनतालाई त्यस्तो भ्रममा नपारिदिनुहोला, उहाँहरुलाई दुःख नदिनुहोला ।
(सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको नयाँ भवन उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रन्जन कालखेतीले व्यक्त गर्नु भएको विचारको सार संक्षेप)