Friday, September 13, 2024

मनहरीमा १० जनाले ७ नं वडा छाडे, ५१ जना भित्रिए

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १२ गते । मनहरी गाउँपालिका वडा नं ७ मा ५१ जना नयाँ नागरिक भित्रिएका छन् ।

विभिन्न स्थानहरुबाट बसाई सरेर आएका १३ घरपरिवारका ५१ जना मानिस वडा नं ७ मा भित्रिएको ७ नं वडा सचिव श्यामहरि दाहालले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७९/०८० मा १० जनाले ७ नं वडा छाडेर गएको तथ्याङ्क वडा कार्यालयसँग छ । ४ घर परिवारले ७ नं वडा छाडेर अन्यत्र बसाई सर्दा परिवारभित्र रहेका १० जनाले अन्यत्रै बास रोजेको पाइएको हो ।

वडा कार्यालयका अनुसार ७ नं वडामा एक बर्षको अबधिमा १८ जना बालक र २३ जना बालिकाको जन्म भई कूल ४१ जना नयाँ बालबालिका थपिएका छन् ।

त्यसै गरी ६ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको वडा कार्यालयले जनाएको छ । विवाह बन्धनमा बाँधिएका जोडीको सम्बन्ध बिच्छेद समेत भएको छ ।

वडाध्यक्ष ठाकुरराम तितुङका अनुसार ७ नं वडामा गत आर्थिक बर्षमा सञ्चालित ३८ वटा योजनाहरु २०७९ सालको चैत महिनामै कार्यान्वयन भइसकेको थियो ।

अघिल्ला बर्षहरुमा झैँ यसबर्ष असार मसान्तमा दौडादौडी गर्नुपर्ने अबस्था नआएको र कार्यान्वयनमा सुधार आएको उहाँले बताउनुभयो ।

सिलिङ बजेटका अतिरिक्त अध्यक्ष विकास कोषबाट २ वटा योजना र उपाध्यक्ष विकास कोषबाट ३ वटा योजना ७ नं वडामा सञ्चालन गरिएको थियो ।

अध्यक्ष कोषबाट एउटा चर्च र अर्काे मन्दिरलाई बजेट बिनियोजन भएको थियो भने उपाध्यक्ष कोषबाट कल्भर्ट, स्ल्याब ढलान र जीम क्लवका लागि बजेट बिनियोजन भएको पाइएको छ ।

७ नं वडाले गत आर्थिक बर्षमा १७ लाख १ हजार ६९ रुपियाँ राजश्व संकलन गरेको छ ।

त्यसमध्ये ४ लाख ४९ हजार ८ सय ७४ रुपियाँ मालपोत संकलन भएको वडाध्यक्ष तितुङले जानकारी दिनुभयो । वडाभरमा ६ वटा टोल विकास संस्था र ९ वटा बाल क्लव गठन भएको वडा कार्यालयले जनाएको छ ।

७ नं वडामा भूमिहीन दलित १६ जना र भूमिहीन सुकुम्बासी ६५ परिवार गरी कूल ८१ परिवार भूमिहीन परिवार रहेको पनि वडा कार्यालयले जानकारी दिएको छ ।

लोकप्रिय

Related Articles