Thursday, November 14, 2024

सिस्नेरीपाखा सामुदायिक वनको २५ लाख काण्डः वडाध्यक्ष भन्छन्–मलाई नचाहिँदो आरोप लगाइयो

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १० गते । मनहरी गाउँपालिका वडा नं ६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको २५ लाख रकम हिनामिना भएको सम्बन्धमा वडाध्यक्षले सहयोग नगरेको भन्ने आरोपको वडाध्यक्ष युवराज थपलियाले खण्डन गर्नु भएको छ ।

मनहरीलाइभ डटकमसँग कुराकानी गर्दै ६ नं वडाध्यक्ष थपलियाले सामुदायिक वनको रकम हिनामिना भएको थाहा पाएपछि रकम असुलीका लागि आफूले विभिन्न तबरले प्रयत्न गरेको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहको मूल खाताबाट विकास भनिने लालकुमार थिङले २५ लाख रुपियाँ आफ्नो खातामा ट्रान्सफर गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीमा निवेदनका लागि आफूले पहल र सहजीकरण गरेको उहाँले बताउनुभयो ।

फरार भएका थिङलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी हिनामिना भएको रकम भुक्तानी गर्ने सर्तमा छाडेको थियो । त्यसबेला छलफलकै क्रममा हिनामिना भएको रकम भुक्तानीका लागि आफूले लालकुमारको जायजेथा र जग्गाजमिन बिक्री गरेर भएपनि रकम असुल गर्न प्रयत्न गरेको वडाध्यक्ष थपलियाको भनाई छ । यद्यपि, जग्गा बेचेर भएपनि सामुदायिक वनको रकम फिर्ता गर्ने प्रयास सफल हुन सकेन ।

हाल फरार रहेका थिङले नै रकम दुरुपयोग गरी भागेको र आफ्नो कुनै संलग्नता नरहेको भन्दै वन समूहका अध्यक्ष शिवकुमार विकले हेटौँडामा पत्रकार सम्मेलन गरी मिडियाबाजी गरेपछि भने घटना झन् शंकास्पद बन्दै गएको छ ।

वडाध्यक्ष थपलियाले समूहका अध्यक्ष विकले आफ्नो मानमर्दन हुने गरी अनावश्यक आरोप लगाएको र लालकुमारलाई भगाउन भूमिका खेलेको आरोप लगाएको भन्दै त्यसको भत्र्सना गर्नु भएको छ ।

‘वन समूहको रकम कसैले खान पाउँदैन र मिल्दैन’, वडाध्यक्ष थपलियाले भन्नुभयो–‘दोषीलाई कारबाही गर्ने कुरामा हामी सबैले सघाउनुपर्छ ।’

तर स्थानीय चुनावको प्रसंग झिकेर झिकेर अनावश्यक आरोप लगाउँदैमा वन समूह चोखो नहुने भन्दै वडाध्यक्ष थपलियाले निष्पक्ष ढंगले छानबीन हुनुपर्ने बताउनुभयो ।

उहाँले त्यतिखेर लालकुमारसँगको छलफलमा हराएको भनिएको २५ लाख रुपियाँ मध्ये वन समूहका अध्यक्ष विकले १० लाख र लालकुमारको तर्फबाट १५ लाख तिर्नेगरी पनि छलफल भएको स्मरण गर्नुभयो ।

मनहरी ६ स्थित दिदीबहिनी नामक होटलमा खाजा खान पस्दा झोला टेवुलमा छाडेर शौचालय जाँदा कोषाध्यक्ष र अध्यक्षको हस्ताक्षर भएको खाली चेक लालकुमार चोरेको र २५ लाख रुपियाँ झिकेको आरोप वन समूहका अध्यक्षले जाहेरी, पत्रकार सम्मेलन तथा अन्यत्र भन्दै आएका छन् ।

तर, यो घटना चेक हराएको नभई मिलेमतोमा हुन सक्ने भन्दै डिभिजन वन कार्यालय राप्ती मनहरी, इलाका प्रहरी कार्यालय मनहरी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको बताइएको छ ।

लोकप्रिय

Related Articles