Sunday, September 15, 2024

नगर प्रहरी छनौट अन्तर्गत शारीरिक परीक्षण सम्पन्न, लिखित परीक्षा १३ गते

ताजा / भरखरै प्राप्त

मनहरी–भदौ १० गते । मनहरी गाउँपालिकाले नगर प्रहरी छनौट प्रकृया अघि बढाएको छ ।

गाउँपालिकाले गत साउन २६ गते नगर प्रहरी सहायक १ जना, नगर प्रहरी हवल्दार २ जना र नगर प्रहरी जवान ७ जनाको दरखास्त आह्वान गरेको थियो ।

सोही अनुरुप गाउँपालिकाले शारीरिक परीक्षण गरी नतिजा प्रकाशन गरेको छ ।

आइतबार प्रकाशित नतिजा अनुसार नगर प्रहरी सहायक निरिक्षकमा ३ जना, नगर प्रहरी हवल्दारमा ७ जना र नगर प्रहरी जवानमा ४७ जना उतिर्ण भएका हुन् ।

शारीरिक परीक्षणमा पास भएकाहरुको लिखित परीक्षा सञ्चालन गरिने छ । लिखित परीक्षाबाट तोकिएको कर्मचारी संख्या पूर्ती गरिने मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो ।

लिखित परीक्षा यहि भदौ १३ गते हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

लिखित परीक्षा नगर प्रहरी जवानको भदौ १३ गते विहान ८ बजे, हवलदारको विहान ८ः ३० बजे र नगर प्रहरी सहायक निरिक्षकको विहान ९ बजे हुने श्रेष्ठले बताउनुभयो । यस अघि गाउँपालिकाले छोटो सुची प्रकाशन गरेको थियो ।

मनहरी लाइभसंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले गाउँपालिकाले पारित गरेको गुट्खा रहित गाउँपालिकाको अनुगमन, कार्यान्वयन गर्न समेत नगर प्रहरीले भूमिका खेल्ने बताउनुभयो ।

मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुट्खाजन्य पदार्थलाई मनहरीका कुनै पनि पसलबाट विक्री वितरण गर्न नपाइने उल्लेख गर्दै, त्यसको निरन्तर अनुगमन र कार्यान्वयनका लागि पनि नगर प्रहरीको आवश्यकता पर्ने बताउनुभयो ।

साथै मनहरीको बढ्दो जनसंख्या वृद्धिले ट्राफिक नियन्त्रणन गर्न, मनहरी सञ्चालित अटोहरुको अव्यवस्थित पार्किङ नियमन गर्न, प्राकृतिक विपतहरुमा उद्धार तथा राहत सामग्री पुर्याउन लगायतको काममा पनि नगर प्रहरी परिचालन हुने कालाखेतीले बताउनुभयो ।

लोकप्रिय

Related Articles